प्रतिनिधिसभा सदस्य निर्वाचन:

तीन पटक स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेल पनि पराजित, एमालेका लक्ष्मी महतो कोइरी बिजयी

काठमाडौँ, ११ मंसिर । तीन पटक स्वास्थ्य मन्त्री बनिसकेका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।

महोत्तरी क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेद्धार बनेका पोखरेललाई नेकपा एमालेका तर्फबाट उम्मेद्धार बनेका लक्ष्मी महतो कोइरीले १ हजार ३० मतले पछि पार्दै पराजित गरेका हुन् ।

महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुंदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए ।

महोत्तरी १ बाट पोखरेल लगातार १५ बर्ष देखि विजयी हुँदै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।

कोइरी ०७४ सालको निर्वाचनमा पनि पोखरेलसंग प्रतिस्पर्धा गरेका थिए । कोइरी त्यसबेलाको संघीय समाजवादी फोरमबाट सोही क्षेत्रमा उम्मेद्धार बनेका थिए । तर त्यसबेला पोखरेल एमालेको सहयोग पाएर उनलाई ४ हजार २८४ मतले पराजित गरेका थिए । यो पटक भने कोइरी एमालेमा गएर जनता समाजवादी पार्टीको सहयोगमा पोखरेललाई पछारे ।

जनमोर्चा हुँदै माओवादीसँग एकीकरण प्रक्रियामा गएदेखि पोखरेल तीन पटक विजयी हुंदा ५ पटक मन्त्री बन्ने अवसर पाएका थिए । त्यसमध्ये तीन पटक उनी स्वास्थ्य मन्त्री समेत बने ।

उनी विसं ०६२र६३ को जनआन्दोलन लगत्तै माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ बैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक स्वास्थ्य मन्त्री बनेका थिए ।

विसं २०६४ सालको निर्वाचनमा माओवादीले एकल बहुमत ल्याएपछि २०६५ को भदौमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो पटक स्वास्थ्यमन्त्री बनेका थिए ।

पोखरेल तेस्रो पटक स्वास्थ्य मन्त्री विसं २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा भएका थिए ।

यसपटकको निर्वाचनमा अधिकांश पूर्व स्वास्थ्य मन्त्रीहरु पराजित बनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *