स्तन क्यान्सरबारे पाटन अस्पतालको जागरण र्‍याली (फोटो फिचर)

काठमाडौँ, ३ कात्तिक ।   विश्व स्वास्थ्य संगठनले हरेक वर्षको अक्टोवर महिनालाई स्तन क्यान्सर जागरण महिनाको रुपमा मनाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार सदस्य राष्ट्रहरुले अक्टोवर महिनाभर स्तन क्यान्सरबारे जागरण फैलाउन विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

यसै सन्दर्भमा विहीबार (आज) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बृहत स्तन क्यान्सर जागरण र्‍यालीको आयोजना गरेको थियो ।

र्‍यालीमा प्राध्यापक डाक्टर, नर्स, विद्यार्थी तथा क्यान्सर सर्भाइभर, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

र्‍याली पाटन अस्पतालबाट निस्केर लगनखेल बसपार्क, मंगलबजार, पुल्चोक, जाउलाखेल कुमारीपाटी हुँदै पुन: जाउलाखेलस्थित अस्पताल परिसरमा पुगेर टुंगिएको थियो । र्‍यालीमा सहभागीहरुले स्तन क्यान्सर बारेमा जनचेतना जगाउने नारा लेखिएको प्ले कार्डहरु बोकेका थिए ।

कार्यक्रमको अगुवाई गरेका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा जनचेतनाको अभावमा नियमित परीक्षण तथा समयमै उपचार गर्ने अवस्था नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउने गरेको भन्दै त्यसबारेमा जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले प्रारम्भिक अवस्थामा ऐनामा हेरेर, छामेर पनि स्तन क्यान्सरको पहिचान गर्न सकिने भन्दै त्यसतर्फ सबैले ध्यान दिनु पर्ने बताए ।

स्तन क्यान्सर विकसित देशमा महिलाहरुको ज्यान लैजाने प्रमुख कारक भएपनि नेपालमा भने यो दोस्रो नम्बरमा छ ।

डा शाहीले समयमै उपचार भएमा कम खर्च र सहज रुपमा निको हुने रोग भएकाले यस तर्फ आम नागरिक सचेत हुनुपर्ने बताए । उनले स्तन क्यान्सरको नियमित परीक्षण तथा स्क्रिनिङ गर्न समेत महिला दिदी बहिनी तथा दाजुभाईहरुलाई आग्रह गरे ।

हेरौँ फोटो फिचर :

तस्विर : रामप्रसाद न्यौपाने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *