डा. निकोलस भुसालको उम्मेद्धारी खारेज

काठमाडौँ, २६ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेद्धारी दिएका डा कमल भुसाल (निकोलस)को उम्मेद्धारी खारेज भएको छ । उनी विरुद्ध परेको उजुरीमा छानवीन गर्दा उम्मेद्धार हुने योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले खारेज गरिदिएको हो ।
डा भुसालविरुद्ध सोमबार सोही क्षेत्रबाट स्वतन्त्र उम्मेद्धारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार जारी गरेको सूचनामा प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा कमल भुसाल (निकोलस) को भने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले उम्मेदवारी खारेज भएको उल्लेख छ ।
उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।
डा भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी दिइएको हो । डा भुसाल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तह अध्ययन गरिरहेका छन्।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




