जुम्ला घटना : डाक्टर करण साह माथिको मुद्धा फिर्ता, प्रहरी हिरासतमा रहेका शाही पनि धरौटीमा रिहा

3.5k
Shares

काठमाडौँ २४ भदौ । कुटपिटमा परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहमाथि लगाइएको बाल हिंंसा सम्वन्धी मुद्धा फिर्ता लिने सहमति भएको छ । आफ्नो छोरामाथि बालहिंसा भयो भन्दै डा साहबिरुद्ध जाहेरी दिने आशा हमाल शाहीले जिल्ला अदालतमा गई मुद्धा फिर्ता लिने सम्झौँता पत्रमा हस्ताक्षर गरेकी छन् ।

उनले मुद्धा फिर्ता लिए लगत्तै प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामुहिक राजिनामा लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिई नियमित काममा फर्केका छन् । यता नेपाल चिकित्सक संघले पनि आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताएको छ । संघका महासचिव डा बद्री रिजालले विज्ञप्ती जारी गर्दै डाक्टर साह माथिको मुद्धा फिर्ता लिएपछि आन्दोलनको कार्यक्रम स्थगित भएको बताए ।

प्रहरी हिरासतमा रहेका शाही पनि धरौटीमा रिहा

उता बिहीबार नै डाक्टर साह माथि आक्रमण गर्ने प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीलाई पनि प्रहरीले रिहा गरेको छ । जिल्ला अदालतले तीन लाख २० हजार रुपैयाँ धरौटी लिएर उनलाई रिहा गरेको जनाइएको छ । चिकित्सक माथि हातपात गर्ने विरुद्ध बनेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी पहिलो संसोधन ऐन २०७९ ले हातपात गर्नेविरुद्ध तीन लाख जरिवाना, तीन वर्ष कैद वा दुई मध्ये एक हुने प्रावधान छ । सोही प्रावधान अनुसार उनलाई धरौटीमा रिहा गरेको हुन सक्ने बताइएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले कुटपिट सम्वन्धी घटना र त्यसपछि जोडिदै आएको परिघटना समाधानको दिसामा अघि बढेको बताए । उनले चिकित्सकबिरुद्धको मुद्धा बालककी आमाले फिर्ता लिएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नियमित रुपमा काममा फर्किएको बताए ।

गत २ भदौमा आफ्नो छोराको टाँका खोल्न भन्दै आकस्मिक कक्षमा पुगेका शाहीले डा साहमाथि कुटपिट गरेका थिए । त्यस लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि उनकी श्रीमती तथा बालककी आमाले जिल्ला अदालतमा डा साहविरुद्ध बाल हिंसा गरेको आरोप लगाउँदै मुद्धा दर्ता गरेकी थिईन । त्यसपछि प्रहरीले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यसपछि घटनाले झनै उग्र रुप लिएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पिडीत डाक्टरलाई झनै पिडा दिएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेका थिए । प्रतिष्ठानले कुटपिटमा सम्लग्न भएको आरोपमा शाहीलाई ४५ दिन निलम्बन गर्ने निर्णय गरेको थियो । सो निलम्बन भने अहिले पनि जारी रहेको रजिष्ट्रार महतले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *