नयाँ औषधि कम्पनी नेपा केयर फर्मास्युटिकल्स सञ्चालनमा

स्वदेशी औषधि उद्योगको प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार छ : स्वास्थ्य राज्यमन्त्री केसी
3.2k
Shares

काठमाडौँ, २४ भदौ । नेपाली औषधि उद्योगको क्षेत्रमा एक नयाँ कम्पनी थपिएको छ । स्वास्थ्य तथा औषधि क्षेत्रका उद्यमीहरू मिलेर स्थापना गरेको नेपा केयर फर्मास्युटिकल्स प्रालिले आफ्ना उत्पादन (औषधि) बजारमा पठाउन थालेको छ ।

औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बिहीबारबाट औषधि बजारमा जान थालेको नेपा केयरका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।

विसं २०७३ सालमा नयाँ औषधि उद्योगको रुपमा दर्ता भएको नेपा केयरको कुल पूजी ६५ करोड हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका – १२ मा १.५ विघा क्षेत्रफल जग्गा लिएर कम्पनीले प्लान्ट तथा कार्यालय निर्माण गरेको छ ।

कम्पनीका अध्यक्ष श्रेष्ठले २० हजार वर्ग फिटमा प्लान्ट तथा ११ हजार वर्ग फिटमा अन्य सेवाका लागि प्रशासनिक कार्यालय तयार गरिएको बताए ।

उनले भने, ‘औषधि उद्योग खोल्नका लागि चाहिने नेपाल सरकारको मामदण्ड, विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) जीएमपीको निर्देशन र युएसएफडीएको प्रावधान अनुसार प्लान्ट तयार भएको छ ।’

अध्यक्ष श्रेष्ठले दक्ष जनशक्ति, युएसएफडीए मान्यता प्राप्त उपकरण, सुविधासम्पन्न प्रयोगशाला रहेको जानकारी दिए ।

कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठका अनुसार नेपा केयरले ट्यावलेट, क्याप्सुल, मलम र झोलको रुपमा औषधि बन्ने बताए । उनले अहिले आफ्नो कम्पनीबाट ९ प्रकारका औषधि उत्पादन सुरु गरि बजार पठाउन थालिएको जानकारी दिए । त्यसमा मधुमेह, छाला, न्युरो, पेन किलर, ग्यास्टाइटिसमा प्रयोग हुने औषधिहरु छन् ।

कार्यकारी निर्देशक श्रेष्ठले कम्पनीले आँखा, नाक, तथा कानमा राख्ने थोपा औषधि समेत उत्पादन सुरु गर्ने योजना भएको जानकारी दिए । उनले औषधिका प्रख्यात कम्पनीसंग उच्च गुणस्तरको कच्चा पदार्थ ल्याउने गरिएको उल्लेख गरे ।

नेपा केयर नेपालमा औषधि उत्पादन गर्ने ७६ औँ कम्पनी बनेको छ ।

स्वदेशी औषधि उद्योगको प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार छ : स्वास्थ्य राज्यमन्त्री केसी


यसैबीच स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको सम्वर्धन तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन् ।

विहीबार नेपा केयर फर्मास्युटिकल्स प्रालिको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री केसीले स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको भन्दै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

उनले औषधि उद्योगहरुलाई आफ्नो दायित्व विर्सन नहुने भन्दै आम जनताको हित सम्झेर काम गर्न आग्रह गरे । ‘गुणस्तरीय औषधिहरु जनतालाई सहज रुपमा उपलव्ध गराउनुहोस्, राज्यले तोकेका मापदण्ड पुरा गर्नुहोस र काम अघि बढाउनुहोस् । त्यसमा राज्यले के गर्नुपर्छ हामीलाई भन्नुहोस् सहयोग गर्न हामी तयार छौँ,’ उनले भने ।

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले नेपाली औषधि उद्योगको क्षेत्रमा नयाँ उद्योग थपिनु आफैमा खुशीको कुरा हो भन्दै, स्वास्थ्य सेवामा टेवा दिनका लागि, रोजगारी सिर्जना गर्न तथा आर्थिक प्रगति गर्न सफल होस भनि शुभकामना दिईन् । उनले अब नेपाल औषधिमा आत्मनिर्भर बन्दै निर्यातका लागि तयार रहनु पर्ने बेला आएको बताईन् ।

कार्यक्रममा नेपाल औषधि उत्पादक औषधि व्यवस्था विभागका बरिष्ठ औषधि निरीक्षक किरण श्रेष्ठ, औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल, नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजाल, नेपाल औषधि व्यावसायी संघका महासचिव निरञ्जन रिजाल लगायतले शुभकामना दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *