धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्रयाइँ भयो : स्वास्थ्यमन्त्री खापुङ

 

काठमाडौँ, १७ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पढेलेखेकै बुद्धिजीवि र धनीवर्गबाट बच्चालाई आमाको स्तनपान गराउन हेलचेक्रयाइँ भइरहेको बताएका छन् ।

मंगलबार प्रसूति गृह थापाथली काठमाडौँमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा बोल्दै उनले बट्टाको दूध तथा खानेकुरा खुवाउने, स्तनपान कम गराउने सङ्ख्या वाग्मती प्रदेशमै बढ्दो देखिनु चिन्ताजनक रहेको बताए।

विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने सङ्ख्या बढी देखिएको तर बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वाग्मती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको उनको भनाइ छ ।

उनले बुद्धिजीवीहरू, धनाढ्य व्यक्तिहरू बस्ने बागमती प्रदेश र काठमाडौँमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए । उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए ।

मन्त्री खापुङले सहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेकोमा जोड दिए । उनले ७ वटै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको र यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा निःशुल्क नपाउनुका कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन समेत दिएका छन् ।

मन्त्री खापुङले पछिल्लो समय नेपालमा कोरोनाको सङ्क्रमण बढिरहेकाले स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन र नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गरी थप सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *