स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिएपछि घर फर्काइएकी गर्भवती बाटोमै सुत्केरी
बाजुरा, ५ साउन । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिएपछि घर फर्काइएकी बाजुराकी एक गर्भवतीले बाटोमै बच्चा जन्माएकी छन् । विहीबार सुत्केरी व्यथाले च्यापेपछि बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षीया कार्तिका बिकलाई आफन्तले सुरक्षित सुत्केरी गराउन भन्दै एक घण्टा टाढा दुरीमा पर्ने माझगाउँ स्वास्थ्य ईकाई केन्द्र पु र्याएका थिए ।
तर त्यहाँ पु र्याउँदा स्वास्थ्यकर्मी नै थिएनन् ।
त्यसपछि परिवारले विकलाई पुन घर तर्फ फर्काएका थिए । तर, उनी घर नपुग्दै बाटोमै सुत्केरी भईन् ।
‘घर फर्काउदै गर्दा ताहाड खोला नजिकै बीच बाटोमा सुत्केरी भईन् । छोरा जन्माएकी छन् । यो उनको तेस्रो सन्तान हो,’ स्थानीय बलबहादुर विकलाई उदृत गर्दै बढिकालिका खबरले समाचार प्रकाशित गरेको छ ।
वडा अध्यक्ष अजयबहादुर बिकले माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नभएको बताए । त्यहाँ सबै स्वास्थ्यकर्मीहरु करारका रहेको र गाँउपालिकाले उनीहरुको म्याद नथपेपछि ईकाइ स्वास्थ्य केन्द्र स्वास्थ्यकर्मी विहीन बनेको विकले जानकारी दिए ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी अहेब कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन् । आबश्यकता आधारमा मात्र करार थप गर्ने वा बिज्ञापन मार्फत भर्ना गर्ने वताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन् ।
अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नविकरण नहुदा स्वास्थ्य सेवा प्रभाबित भएको छ । बाजुरामा ३ बर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् ।
सम्पर्क इमेल : [email protected]