औषधि व्यवस्था विभागले भन्यो, ‘नेपालमा दर्ता नभएको बायोडी ड्रप्स प्रयोग नगर्नुहोस्’
काठमाडौँ, २३ असार । औषधि व्यवस्था विभागले जी ल्यावरोटोरी इन्डियाबाट उत्पादित बायोडी ड्रप्स (भिटामिन डी -३) बच्चाहरुलाई सेवन नगराउन अभिभावकहरुलाई अनुरोध गरेको छ ।
विभागले यो ड्रप्स विभागमा दर्ता नभएको र यसको प्रयोग गरिएका बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर (एडभर्स इफेक्ट) देखिएको जानकारी अस्पताल तथा सञ्चारमाध्यमबाट प्राप्त भएको भन्दै आम अभिभावकलाई प्रयोग नगर्न भनेको हो । उसले दर्ता नभएको यो ड्रप्सलाई नेपालमा आयात तथा बिक्री बितरण नगर्न समेत चेतावनी दिएको हो ।
न्युट्रास्यिुटिक्लस प्रडक्टको रुपमा भारतमा उत्पादित यो ड्रप्स लुकीचोरी रुपमा नेपाल भित्रिएको छ । यो ड्रप्सले बच्चाहरुलाई स्वस्थ राख्न मद्धत गर्ने भन्दै आम अभिभावकले खरीद गर्दै प्रयोग गर्ने गरेको पाइएको छ ।
विभागले आज जारी गरेको सूचनामा कतिपय फर्मास्युटिकल्स डोज फर्ममा जस्तै ट्याब्लेट, क्याप्सुल तथा झोल लगायतका औषधि र त्यसका समिश्रणहरु बजारमा खाद्यपुरक सामाग्रीहरुको रुपमा अत्यधिक मात्रामा पैठारी गरी संचय, बिक्रि बिरतण र प्रयोग भइरहेको जानकारी पाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
उसले औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने यस्ता वस्तुलाई ऐनको दफा २५ अनुसार २०४९ सालमा नै राजपत्रमा सूचना प्रकाशित गरी प्रतिवन्ध गरिएको समेत उल्लेख गरेको छ ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

