सिकलसेल रोकथाम गर्न रगत जाँच गरेर मात्रै विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव

328
Shares

बाँके, ३ असार । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन्। सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन्।

सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने विषयलाई प्राथमिकता दिइएको छ। उनले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ। पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ।

पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ।

बाहक–बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ। अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ। अहिलेको पुस्तामा रोग देखिएको छैन। उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ।

सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ। तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने अवस्था आएको छ। सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको छ। बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ।

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको जानकारी दिए। थारू समुदायमा स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका ९०० बिरामीले भेरी अस्पतालबाट औषधि सेवन गरिरहेको डा पाण्डेले जानकारी दिए।

पश्चिम नेपालका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि सेवन गरिरहेको उनले बताए। डा पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने उल्लेख गरे।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *