स्वास्थ्य बीमा कार्यक्रम कम्पनी मार्फत सञ्चालन गर्ने बजेटको प्रस्तावलाई सच्याईयोस् : नेफा
काठमाडौँ, २२ जेठ । नेपाल जनस्वास्थ्य संघ (नेफा)ले स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी मार्फत सञ्चालन गर्ने गरी ल्याइएको बजेटको विरोध गरेको छ । नेफाले आज एक विज्ञप्ती जारी गर्दै बजेट बक्तव्या रहेको स्वास्थ्य बीमालाई बीमा कम्पनी मार्फत सञ्चालन गरिने भन्ने विषयलाई तत्काल सच्याउन समेत अनुरोध गरेको छ । उसले स्वास्थ्य बीमा कार्यक्रम सरकारको स्वामित्व तथा स्वास्थ्यको क्षेत्राधिकारमा नै राखिनु पर्ने स्पष्ट पारेको छ ।
गत १५ जेठमा सरकारले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य बीमा कार्यक्रम कम्पनीमार्फत सञ्चालन गर्ने भनिएको छ । यस्तै १ साउन देखि बीमा कार्यक्रम मार्फतको सेवा सरकारी र सामुदायिक अस्पतालहरुबाट मात्रै उपलव्ध हुने बताइएको छ ।
तर गत शुक्रबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थ मन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी मार्फत सञ्चालन गर्ने कार्य नभएको बताएका थिए । उनले बीमा बारे अध्ययन गरी यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ कि भनेर बजेटमा आएको दावी गरेका थिए ।
नेफाका अध्यक्ष बसन्त अधिकारीले बजेटमा आईसकेको कार्यक्रम फिर्ता लिईसकेको नभनिएको हुनाले सरकार समक्ष पुन आग्रह गरिएको बताए । उनले भने, ‘अर्थ मन्त्री ज्यूले जवाफ दिए पनि त्यसको लिखित रुपमा फिर्ता भएको भन्ने आईसकेको छैन् । त्यसैले हामीले यसलाई फिर्ता लिने र अहिलेको बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाएर लैजान आग्रह गररेका हौँ ।’
नेफाले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको अभिन्न अंगको रुपमा रहेको भन्दै नाफा मुलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गरिएमा जनताको स्वास्थ्य सम्वन्धी संवैधानिक हक तथा नेपाल सरकारले गरेका अन्तराष्ट्रिय प्रतिवद्धताको प्रतिकुल हुने समेत चेतावनी दिएको छ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




