अफगानिस्तानबाट फर्किएका नेपालीलाई एयरपोर्टमै पोलियो थोपा
काठमाडौँ, ७ भदौ । सरकारले अफगानिस्तान (पोलियो जोखिम क्षेत्रबाट) आएका नेपालीलाई पोलियो थोपा( खोप) दिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार आज अपरान्ह देखि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा खोप दिन थालिएको हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा झलक गौतमका अनुसार आज मात्रै १०८ जनालाई पोलियो थोपा खुवाइएको छ ।
यस अघि नेपाल भित्रिएका ५०४ जनालाई पनि पोलियो थोपा खुवाउने योजना विभागले गरेको छ ।
उनीहरुले नजिकको स्वास्थ्य संस्थामा गएर उक्त खोप लिन सक्ने डा गौतमले बताए । उनीहरुलाई दुई थोपा पोलियो खोप दिने योजना रहेको बताए ।
स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसन (आईएचआर)को सिफारिसका आधारमा अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने निर्णय गरेको हो।
आईएचआरको निर्णय अनुसार संसारभरका देशले अफगानिस्तानबाट आउनेहरुलाई पोलियो खोप दिने निर्णय गरेका छन् ।
नेपाल अहिले पोलियो सून्य अवस्था भएको मुलुकमा पर्दछ ।
सन् २०१० मा पछिल्लो पटक एउटा केश भेटिएको थियो । त्यस यता कुनै केश देखा परेको छैन् । सामान्यतया पोलियो खोप बालबालिकालाई दिइन्छ। तर पोलियो संक्रमण फैलिएका देशबाट आएका जुनसुकै उमेरका नागरिकलाई पनि पोलियो खोप दिइन्छ।
पोलियो भाइरसद्वारा लाग्ने रोग हो। यो मुख्य रूपमा व्यक्ति-व्यक्ति बीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिशा पिसाब विभिन्न माध्यमबाट खाना वा पेय पदार्थमा पुग्ने र त्यसको सेवनबाट यो फैलिन्छ।
पोलियो सङ्क्रमित धेरैजसो मानिसहरूमा कुनै लक्षण देखिँदैन, र समस्या विना नै धेरै निको हुन्छन् । तर कहिलेकही पोलियो लागेका मानिसहरूलाई पक्षाघात हुनसक्छ । पोलियोको कारण दीर्घकालीन अपाङ्गता हुनसक्छ।
सम्पर्क इमेल : [email protected]