स्पाइन ट्रमाको रजिष्ट्री गर्न एनएचआरसी र एएसएसएनबीच सम्झौँता
काठमाडौँ, ३१ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) र एसोसियसन अफ स्पाईन सर्जन्स अफ नेपाल (एएसएसएन) स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्वन्धी सम्झौँता भएको छ ।
सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सभाहलमा एनएचआरसीका कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र एएसएसएनका महासचिव डा. ब्यापक पौडेलबीच सो सम्वन्धी सझौता पत्रमा हस्ताक्षर भएको हो ।
‘नेपालमा स्पाईन ट्रमाको अवस्था के छ ? उपचार सुविधा, प्रभावकारिता लगायतका विषयमा अनुसन्धान गर्ने उदेश्यले स्पाइन ट्रमा सम्वन्धी रजिष्ट्री गर्ने कार्यको सम्झौँता गरेका हौँ,’एएसएसएनका अध्यक्ष डा विमलकुमार पाण्डेले भने ।
एनएचआरसीका सदस्यसचिव डा ज्ञवालीले कुनै पनि रोगहरुबारेमा अनुसन्धान गर्न परेमा सर्बप्रथम तथ्यांक आवश्यक पर्ने भएकोले अहिलेको रजिष्ट्री सम्वन्धी कार्यक्रमले दीर्घकालसम्मका लागि अनुसन्धान गर्न सहयोग पुग्ने बताए । उनले अनुसन्धानका क्रममा आएका तथ्यलाई डिजिटलाइज्ड भर्सनमा भण्डारण गर्ने योजना सुनाउँदै एनएचआरसीलाई स्वास्थ्य तथ्यांक भण्डारण केन्द्र बनाउने बताए ।
कार्यक्रममा परिषदका उपाध्यक्ष डा गौरबराज ढकालले स्वास्थ्य अनुसन्धानका लागि रजिष्ट्री कार्यक्रम सबैभन्दा महत्वपूर्ण रहने भन्दै स्पाईन ट्रमाको रजिष्ट्री र त्यसपछि गरिने अनुसन्धानात्मक विश्लेषणले नयाँ नीति बनाउन समेत सहज हुने बताए । उनले रजिष्ट्रीको कार्यलाई परिषदले प्राथमिकतामा राखेको बताए ।
‘यी दुईवटा संस्थाबीच भएको सम्झौँताअनुसार प्रारम्भिक चरणमा उपत्यकाका पाँचवटा अस्पतालको तथ्यांक संकलन गर्ने योजना रहेको छ । सम्भवत त्रिवि शिक्षण, राष्ट्रिय ट्रमा, वीएण्डवी, ग्राण्डी र काठमाडौँ मेडिकल कलेजको तथ्याक लिएर पाइलटिङ गर्छौ होला । यसको केही दिनमै अन्तिम टुंगो लाग्छ,’ डा पाण्डेले भने ।
परिषदले सन् २०१८ देखि जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री कार्यक्रम र सन् २०१९ देखि क्लिनिकल ट्रायलको रजिष्ट्रीको कार्य अघि बढाउको छ । क्लिनिकल ट्रायल रजिष्ट्रीको कार्यलाई विश्वस्वास्थ्य संगठनले मान्यता दिने क्रममा रहेको डा ज्ञवालीले बताए ।
उनले एनएचआरसीले क्रमश अन्य रोगबारेमा पनि रजिष्ट्री कार्यलाई अघि बढाउने जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]