केडीसी जनरल हस्पिटलमा पनि शुरु भयो कोभिड ओपिडी

काठमाडौँ, ४ जेठ । कोभिड – १९ को उपचार गर्दै आएको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज जनरल अस्पतालले गत आइतबारबाट संक्रमितका लागि ओपिडी सेवा समेत शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्ने १३ वटा ठूला अस्पताललाई सो सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

‘हामीले पनि ओपिडी सेवा शुरु गरेका छौँ । विहान ८ बजे देखि अपरान्ह ५ बजेसम्म कोभिड संक्रमितको लागि ओपिडी सेवा दिइरहेका छौँ । यो अवधीमा संक्रमितहरुले आएर आवश्यक परीक्षण र परामर्श लिन सक्नेछन्,’ अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

अहिले धेरैजसो संक्रमित होम आइसोलेसनमा बसेका छन् । अस्पतालमा आएर भर्ना हुन चाहेका कतिपय संक्रमितहरु वेड र अक्सिजन अभावका कारण होम आइसोलेसनमै बस्न बाध्य छन् ।

‘यसले धेरैलाई अन्योलता र चिन्ता बढाएको पाइयो । त्यसैले हामलिे त्यो चिन्ता र अन्योलता हटाउनका लागि ओपिडी सुरु गरेका हौं । संक्रमणमा परेकाहरुले आफ्नो अवस्था के हो ? घरमै बस्दा हुने हो कि अस्पतालमा आउनुपर्ने हो भनेर परामर्श र जाँच गराउन सक्नुहुनेछ,’उनले भने ।

केडीसीले कोभिडको पहिलो लहर शुरु हुँदा पनि उपचार सेवा प्रदान गर्दै आएको थियो । यसपटक पनि उपचारका लागि १०० बेड कोभिडको उपचारका लागि छुट्याएको छ । तर अक्सिजन अभावमा पुरा बेड सञ्चालनमा ल्याउन नसकेको अध्यक्ष डा श्रेष्ठले बताए । अहिले १४ वटा आइसीयू, ११ वटा हाइकेयर, ६ वटा क्याविन हाइकेयर, इमरजेन्सीमा ५ वटा बेड सञ्चालनमा आएको उनले बताए ।

केडीसीमा उपत्यका बाहेक महेन्द्रनगर, वीरगञ्ज, दाङ, जनकपुर, पाल्पा, बुटवल, स्याङजा, कास्की लगायतका स्थानबाट आएका संक्रमितहरुले उपचार सेवा लिइरहेका छन् । ‘गम्भीर अवस्थामा आएकाहरु पनि केही समयको उपचार पछि निको भएर घर फर्कनु भएको छ । यो हामी सबैका लागि खुशीको कुरा हो,’ उनले अन्तमा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *