भारतबाट आउनेहरुको अब नाकामै ‘एन्टीजेन’ परीक्षण गर्ने तयारी

काठमाडौँ, ८ चैत ।  भारतमा कोरोना संक्रमण बढेपछि सरकारले सतर्कता अपानाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल भारत स्थल सीमानाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ । यस्तै मन्त्रालयले ७७ वटै स्थानीय प्रशासनलाई गृहमन्त्रालय मार्फत पत्र पठाउँदै हाई अलर्टमा रहन भनेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा दिनानुदिन बढ्दै गईरहेको कोरोना संक्रमणले नेपालमा जोखिम बढ्न सक्ने आकलन गरेर १४ वटै सिमा नाकाका हेल्थ डेस्कलाई थप सक्रिय बनाउन निर्देशन दिइएको बताए । उनले भारतबाट आउनेहरुलाई लक्षण तथा जोखिमको प्राथमिकता निर्धारण गरी एन्टीजेन परीक्षण गर्न समेत निर्देशन दिएको बताए ।

‘अहिले भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली लगायतका राज्यका विभिन्न शहरहरुमा संक्रमण बढेको जानकारी आएको छ । ती ठाँउबाट आउने कुनै पनि नागरिकलाई लक्षण र सम्भावित जोखिमको आधारमा एन्टिजेन परीक्षण गर्न भनेका छौँ । त्यसपछि सिमा नाकामा क्वारेन्टिन र स्थानीय तहमा संस्थागत वा होम क्वारेन्टिन राख्न समेत भनेका छौँ । यस सम्वन्धमा स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिईसकेका छौँ । अव गृह मार्फत स्थानीय प्रशासनलाई पनि निर्देशन जान्छ,’ डा गौतमले भने ।

नेपालमा गतवर्ष यतिवेला २ वटा मात्रै केश पत्ता लागेको थियो । त्यसयता अहिलेसम्म २ लाख ७५ हजार ८२९ जनामा संक्रमण भएको छ । आजको दिनमा नेपालमा ९९८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । डा गौतमले संख्या पछिल्लो दिनमा कम देखिए पनि जोखिम नघटेको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता पालना गर्नुपर्ने बताए ।

सरकारले केही समय अघि १ लाख ५० हजार थान एन्टीजेन किट खरीद गरेको थियो । त्यही किट अव नाका नाकामा पठाइने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *