भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

120
Shares


चितवन, ६ माघ । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ ।

अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उनले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताए ।

निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, “अहिले साधारण सेवाबाट शुरु गर्छौं, पछि विशिष्ट सेवा दिन्छौं ।” हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उनले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३औँ विभागको रुपमा आँखा विभाग स्थापना भएको बताए ।

यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *