सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा शुरु

88
Shares


डोटी, ५ मंसिर । बिरामीलाई उपचार तथा परामर्श दिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलोपटक ‘टेलिमेडिसिन’ सेवा शुरु गरिएको छ ।

एकजना चिकित्सकसहित अन्य तीन जना स्वास्थ्यकर्मीको टोलीबाट ‘टेलिमेडिसिन’ सेवा शुरु गरिएको प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ ।

तोकिएका चिकित्सकले टेलिफोन, इमेल र एसएमएसलगायत अन्य सुविधा प्रयोग गरी विभिन्न रोगका बिरामीको उपचार गर्न तथा अन्य स्वास्थ्यकर्मीलाई सुझाव सल्लाह दिन सकिने भएकाले उक्त सेवा शुरु गरेको प्रदेश प्रहरी अस्पताल दिपायलका प्रमुख डा भीमबहादुर बुढाले बताए । “टेलिमेडिसिन सेवाको एप्स जोडिएका सबै अस्पतालसँग हाम्रो सम्पर्क हुने तथा त्यहाँ रहेका विशेषज्ञ डाक्टरसँग हामीले बिरामीको उपचारका बारेमा जानकारी लिने तथा दिन सकिने भएकाले यो सेवा शुरु गरेका छौँ”, उनले भने, “यो सेवाको शुभारम्भ भएपछि बिरामीको उपचारमा निकै सहज हुनेछ ।”

देशभरिका टेलिमेडिसिन सेवाको एप्स जोडिएका अस्पतालमा रहेका चिकित्सकसँग रोगका बारेमा जानकारी लिन सकिने तथा आफ्नो अस्पतालमा भएका बिरामीको बारेमा जानकारी दिएर उपचार गर्न सकिने भएकाले यो सेवा निकै प्रभावकारी हुने देखिएको अस्पतालका स्वास्थ्यकर्मी तथा प्राविधिक प्रहरी नायब निरीक्षक खडकबहादुर भुत्यालले जानकारी दिए ।

प्रहरी अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा शुरु भएकाले चिकित्सकले केन्द्रीय हब अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बिरामीका बारेमा सल्लाह लिन सहज हुनेछ । यस अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँको सेती प्रादेशिक अस्पताल धनगढीमा दुई जना चिकित्सक रहने गरी ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *