स्वास्थ्य मन्त्रालयले कोभिड अस्पताललाई भन्यो, ‘लक्षण र चिन्ह भएका व्यक्तिको उपचार निशुल्क गर्नु’

काठमाडौँ, ४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण र चिन्ह भएका व्यक्तिको उपचार निशुल्क गर्न आफ्ना सूचिकृत अस्पताललाई निर्देशन दिएको छ । उसले निर्देशनको अटेरी गरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

बुधबार मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले पुन सूचना जारी गर्दै कोरोनाको उपचार गर्न सूचीकृत कोरोना अस्पतालहरुलाई यसअघिको निर्देशन अनुसार निशुल्क उपचार भनेको छ । सूचनामा त्यसो नगरेको खण्डमा कारवाही हुने समेत स्पष्ट पारेको छ ।

सूचनामा लक्षण चिन्ह भएका संक्रमित व्यक्तिले कोरोना बीमा गराएको भए त्यसबाटै उपचार खर्च कटौती गर्ने समेत स्पष्ट पारेको छ । उनले कोरोनाको उपचार गर्न सामर्थ्य हुनेहरूले भने उपचार र परीक्षण रकम योगदान गर्न सक्नेसमेत मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषदको निर्णपछि केन्द्रले यसअघि नै मन्त्रालयसंग सम्झौँता गरेका सूचीकृत अस्पतालमा निशुल्क उपचार गर्न भन्दै पत्राचार गरेको थियो। तर कतिपय अस्पतालहरुले मन्त्रालयबाट पैसा नआएको भन्दै रकम लिने कार्य जारी राखेका छन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने,’हामीले पटक पटक सूचना जारी गरेका छौं, सूचिकृत अस्पताललाई उपचार बापतको रकम सोधभर्ना हुन्छ भनेकौँ छौ । यस्तो भन्दा भन्दै शुल्क लिनु गैरकानूनी कार्य हो । गैरकानूनी कार्य गरेमा कारवाहीको भागिदार हुनेछन् ।’

मन्त्रालयले ठूला सरकारी अस्पतालसहित केही निजी तथा सामुदायिक अस्पतालहरुसंग सम्झौँता गरी कोभिड १९ का बिरामीहरुको उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *