कोरोना रोकथामका लागि अब टोल टोलमा समूह

काठमाडौँ, २४ कात्तिक । स्थानीय तहमै स्वयंसेवी नखटिईकन कोरोना रोकथाम नहुने भन्दै सरकारले अब टोलटोलमा समूह परिचालन गर्ने योजना बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा बनाएको सर्भिलेन्स, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ समितिले स्थायनीय तहमा कोभिड सहजीकरण समूह बनाई कोरोना रोकथाम गर्ने योजना अघि सारेको हो ।

‘हरेक टोलटोलमा कम्तीमा एउटा समिति वा समूह हुनेछ । त्यसले बढीमा ५० वटा घरको निगरानी गर्नुपर्नेछ । समूहमा कम्तीमा ५ जना स्थानीय तहकै सदस्यहरु हुनेछन् । त्यसमा आवश्यकता अनुसार महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लव, आम समूह, गुठीका सदस्यहरु प्राथमिकता अनुसार रहनेछन् । उनीहरुको परिचालन टोल सुधार समिति वा विकास समितिमार्फत गरिनेछ,’ प्रमुख विशेषज्ञ श्रेष्ठले सुनाए ।

सो समूहले कोभिड संक्रमणको अध्यावधिक विवरण राख्ने, कन्ट्याक्ट ट्रेसिङमा को को परे भन्ने बारेमा विवरण राख्ने, होम आइसोलेसनमा बसे नबसेको अनुगमन गर्ने, होम क्वारेन्टिन र होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई स्वास्थ्य सम्वन्धी जानकारी उपलव्ध गराउने वा परामर्श दिने काम गर्ने तथा त्यहाँको विवरण स्थानीय पालिकालाई दिने काम गर्नुपर्छ । यस्तै जनचेतना अभिवृद्धि गर्ने, ६० बर्ष माथिका जेष्ठ नागरिक, दीर्घ रोगीहरुलाई घर बाहिर नजान वा जानै पर्ने भएमा स्वास्थ्य सुरक्षा अपाएन मात्रै जान भन्ने लगायतका काम समेत सो समूहले गर्ने बताइएको छ ।

‘यो स्वयंसेवी समूह हुन्छ । स्थानीय पालिका त्यसमा पनि वडाहरुले समन्वय गरेर यो निर्माण गरिन्छ । त्यसका लागि अहिले उपत्यकामाबाट यो काम शुरु हुँदैछ,’ श्रेष्ठले भने

उनले उपत्यका नगरपालिका, महानगरपालिका गरी १८ वटामध्ये ८ वटामा यस सम्वन्धी अभिमुखीकरण भईसकेको भन्दै ती पालिकाहरुले यो कार्यलाई छिटै परिचालन गर्ने समेत बताए ।

पछिल्लो समय उपत्यकामा कोरोनाको विगविगी बढेको छ । संयोजक श्रेष्ठले अब यसैगरी कन्ट्याक्ट ट्रेसिङको काम समेत व्यवपक रुपमा गर्ने योजना रहेको सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *