कोरोनाको एउटा पोजेटिभ केश भेट्टाउन राज्यको खर्च एक लाख ४ हजार रुपैयाँ
काठमाडौँ, ५ भदौ । कोरोना भाइरसको एउटा पोजेटिभ केश भेट्टाउन राज्यको कति रकम खर्च हुन्छ होला ? १० हजार ? २० हजार ? कि ३० हजार ? तपाईँले यो अनुमान गर्नु भएको हो भने गलत हुन्छ । सहि त, एउटा पोजेटिभ केश भेट्टाउन १ लाख ४ हजार ६३० रुपैयाँ खर्च हुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो हिसाव प्रस्तुत गरेका हुन् ।
अहिलेसम्म गरेको पीसीआर टेष्ट र त्यसका लागि राज्यले तोकेको रेट र परीक्षणपछि प्राप्त पोजेटिभ केशको हिसाव गर्दा उक्त खर्च निस्किएको हो ।
‘अहिलेसम्म राज्यले ५ लाख ७९ हजार ८९९ जनाको आरटीपीसीआर विधिबाट परीक्षण ग र्यो, प्रति पीसीआर ५ हजार ५ सय रुपैयाँ तोक्दा कुल खर्च ३ अर्व १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यसरी परीक्षण गर्दा ३० हजार ४८३ जना पोजेटिभ देखिएको छ । यसलाई कुल खर्चलाई भाग लगाउँदा एउटा पोजेटिभ केश पत्ता लगाउन १ लाख ४ हजार ६३० रुपैयाँ परेको छ,’ डा गौतमले भने ।
उनले एउटा व्यक्ति ३० दिन आईसीयूमा बस्न परे राज्यको तर्फबाट थप ४ लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी दिए ।
उनले अन्त्यमा फेरी भने, ‘हामीले बारम्बार भन्दै आएको छौँ । यो परीक्षण र उपचार निकै महंगो छ । संक्रमण भयो भने आफैमा खतरा पनि छ । त्यसैले हाम्रो आग्रह मानिदिनुस । सरकारले भनेको नियम पालना गरिदिनुस्। अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कनुस । कोरोनालाई ख्याल ठट्टा नगर्नुस् । यसले आर्थिक र मानवीय क्षति बढाउन सक्छ ।’
सम्पर्क इमेल : [email protected]