काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या आज साँझसम्म ६२ पुग्यो
काठमाडौँ, १९ साउन । काठमाडौँ उपत्यकामा आज कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । आज अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेटमा उपत्यकामा संक्रमितको संख्या ५१ जना उल्लेख थियो ।
तर बेलुकासम्म सो संख्या बढेर ६२ पुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य निरीक्षक उत्तम कोइरालाले बताए । कुल संक्रमित ६२ मध्ये ४८ जनाको आज व्यवस्थापन गरिएको र बाँकी १४ जनाको भोलि गर्ने तयारी भएको समेत उनले जानकारी दिए ।
इडिसिडीका अनुसार संक्रमित अधिकांश व्यक्ति तराई क्षेत्र प्रदेश नं २ बाट आएकाहरु हुन् । दुई जना भने तेस्रो मुलुकमा बैदेशिक रोजगार गर्न गई फर्किएका हुन् । झण्डै आधा दर्जन भारतीय नागरिक छन् । केही भने प्रहरी प्रधान कार्यालय नक्सालको कन्ट्याक टेसिङमा परेकाहरु पनि छन् । आज व्यवस्थापन गरेकामध्ये २५ जना अस्पतालमा भर्ना भएका छन् २३ जना होम आइसोलेसनमा बसेका छन् । संक्रमितहरु ६ बर्ष देखि ६० बर्ष माथिसम्मका छन् ।
जनस्वास्थ्य निरीक्षक कोइरालाका अनुसार संक्रमितहरुलाई युनिफाइड अस्पताल बलम्बु, शहीद शुक्रराज अस्पताल टेकु, पाटन अस्पताल, काठमाडौँ मेडिकल कलेज दुवाकोट र आयुर्वेद अस्पताल कीर्तिपुरमा राखिएको छ । केही भने होम आइसोलेसनमै बसेका छन् । केहीले बिबरण बारे जानकारी लिएपछि मोवाइल अफ गरेर सम्पर्क विहीन हुने कोशिश गरेको समेत देखिएको छ ।
निरीक्षक कोइरालाले पछिल्लो समय तराईबाट आएकाहरुमा संक्रमण देखिएकोले यसलाई नियन्त्रण गर्न नाकामै विशेष निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको धारणा व्यक्त गरे ।
गत ७ साउन देखि देशभर लकडाउन खुलेपछि कोरोना संक्रमण दर तिब्र रुपमा बढ्न थालेको छ । मन्त्रालयको विवरणमा आज ४१८ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

