‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’बाट कोरोनाको उपचार तथा अनुसन्धान गर्न १२ वटा अस्पताल तोकियो

28
Shares

काठमाडौँ, १९ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरी अध्ययन् गर्न तीनवटा निजी सहित १२ वटा अस्पताललाई स्वीकृति दिएको जनाएको छ ।

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका एक जना ६० बर्षीय बिरामीलाई यहि विधिबाट उपचार गरेपछि सुधार आएको खबर सार्वजनिक भएको दोस्रो दिन परिषद्ले यस्तो जानकारी दिएको हो ।

परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका १८ बर्ष माथिका बिरामीको उपचारलाई सहज बनाउन यो अनुसन्धान गरिएको बताए ।

‘यसलाई हामीले कन्भालेसेन्ट प्लाज्मा थेरापीको सम्भाव्य अकलोकन क्लिनिकल अध्ययन नाम दिएका छौँ । अध्ययनका लागि तीनवटा निजी र नौ वटा सरकारी अस्पताल तोकिएका छन् । यी तोकिएका अस्पतालमा उपचाररत यदि १८ बर्ष माथिका व्यक्ति गम्भीर अवस्थामा पुगेर यो विधि अपनाउन चाहेको खण्डमा यो उपचार हुनेछ । तर दाता र ग्रहण कर्ता दुबैको सहमति हुनुपर्नेछ,’ डा ज्ञवालीले बताए ।

कन्भालेसेन्ट प्लाज्मा थेरापीका लागि कुन कुन अस्पताल तोकियो ?
डा ज्ञवालीका अनुसार यो अध्ययनका लागि तीनवटा निजी र नौ वटा सरकारी तथा सामुदायिक गरी १२ वटा अस्पताल तोकिएका छन् । निजी तर्फ नेपाल मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल तोकिएको छ ।

सरकारी तथा सामुदायिक तर्फ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, भक्तपुर अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल र सेती अस्पताल पनि यो विधिबाट उपचार गर्नका लागि स्वीकृती पाएका छन् ।

यो विधिमा सहभागी हुन चाहने दातामा कोरोना उपचार गरि ठिक भएको हुनुपर्ने, १४ दिन यता कोरोनाको लक्षण नदेखिएको हुनुपर्ने लगायतको प्रावधान राखिएको छ । यस्तै ग्रहण कर्ता १८ बर्ष माथिको हुनुपर्ने, स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने लगायतको मापदण्ड छ ।
डा ज्ञवालीले यो अध्ययनका लागि अहिलेसम्म कोरोना जितेर घर फर्केका २५ जनाले प्लाज्मा दिन इच्छुक भएर नाम लेखाएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *