भेन्टिलेटरमा जानै लागेको कोरोना संक्रमितलाई जब प्लाज्मा दिइयो, भयो चमत्कारिक सुधार

4
Share
फाइल फोटो

काठमाडौँ, १८ साउन ।   कोरोना भाइरस (कोभिड – १९)को संक्रमणपछि जटिल स्वास्थ्य अवस्था भएका एक जना बिरामीलाई त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरी निको बनाएका छन् । उनीहरुले यो उपचार विधि नेपालमै पहिलो भएको समेत दावी गरेका छन् ।

गत शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिफर भई त्रिवि शिक्षण अस्पताल आइपुगेका बिराटनगरका एक ६० बर्षिय कोरोना संक्रमितको अवस्था नाजुक भइसकेको थियो । शिक्षण अस्पतालका विज्ञ डाक्टरहरुले शनिबारबाटै उनको अवस्थामा सुधार ल्याउन अनेकन प्रयास गरे तर सफल भइरहेका थिएनन् ।

पाँच दिन पछि बुधबार त्रिवि शिक्षण कोभिड व्यवस्थापन समितिको बैठक बस्यो र अन्तिम बिकल्पको रुपमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने निधो गरे । सोही दिन राती बिरामीलाई प्लाज्मा दिइयो ।

‘पाँच दिनसम्म नाजुक बन्दै गएको बिरामी छैटौँ दिनमा एक्कासी सुधार देखियो । अहिले पनि आइसीयूमा हुनुहुन्छ तर हिडन थाल्नु भएको छ, खान थाल्नु भएको छ मज्जाले बोल्न थाल्नु भएको छ,’ कोभिड व्यवस्थापन समितिका संयोजक प्राडा शान्तकुमार दासले बिरामीको अवस्था सुनाए । उनले अब भोलिसम्ममा आइसीयूबाट बाहिर निकाल्ने र एक दुई दिनमा पीसीआर जाँच गरी नेगेटिभ आए डिस्चार्ज गर्ने योजना रहेको समेत जानकारी दिए ।

प्लाज्मा कसरी जुट्यो ?
प्राडा दासले शनिबार ल्याइएको बिरामीको स्वास्थ्य अवस्था पाँच दिन (बुधबार)सम्म सुधार हुने अपेक्षा गरेका थिए । ‘तर, सुधार हुनुको सट्टा बिग्रँदै गयो । त्यसपछि हामी आकस्मिक बैठक बस्यौँ र प्लाज्मा थेरापी दिने निस्कर्षमा पुग्यौँ । किनभने अरु उपाय हामी गरिसकेका थियौँ । अन्तिम विकल्प पनि किन छाड्ने भनेर गरिएको थियो,’ डा दासले अगाडी भने, ‘त्यसपछि प्लाज्माको दाता खोज्न थाल्यौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना जितेर प्लाज्मा दिन चाहेका दाताको लिष्ट राखेको रहेछ । हामीलाई एनएचआरसीले नै दाता उपलव्ध गराईदियो । करीब ३० ३५ बर्षका पुरुषले विहीबार रगत दान गरे । सोही दिन प्लाज्मा तयार ग¥यौँ र राती करीब ११ बजे चडायौँ । अर्को दिन विहान देखि नै बिरामीमा चमत्कारिक सुधार आइहाल्यो ।’

‘त्यतिवेला ९० प्रतिशत अक्सिजन दिनुपर्नेमा अर्को दिन देखि सो मात्रा घटाउन थालियो । अहिले निकै कम २४ देखि २८ प्रतिशत मात्रै अक्सिजन दिइएको छ,’ उनले भने ।

डा दासका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापी भनेको कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुको रगतबाट प्लाज्मा छुट्याएर कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुलाई दिइन्छ ।

‘रगतबाट आरबीसी र प्लेटलेट झिकेपछि बाँकी रहेको प्लाज्मा संक्रमितलाई दिइन्छ । करीब २०० एमएल दिइन्छ,’ उनले भने ।

यो गम्भीर अवस्था भएका भेन्टिलेटरमा गएका वा जान लागेका कोरोना संक्रमितका लागि यो उपचार पद्धती गरिएको र प्रभावकारी भएको समेत उनले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *