असन-महावौद्धमा व्यापार गर्ने एकै परिवारका ५ जनामा कोरोना संक्रमण
काठमाडौँ, ११ साउन । असन महावौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । भारत सितामणिबाट फर्केकी बिहे भएकी छोरी उनका बाबु आमा र भाई र छोरीको छोरालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरुको उमेर ८ बर्ष देखि ६० बर्ष रहेको बताइएको छ । संक्रमित सबैलाई अहिले टेकुस्थित शहीद शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीका अनुसार गत विहीबार देखि सो परिवारको परीक्षण शुरु भएको थियो ।
‘शुरुमा भाई चाहिलाई हल्का लक्षण देखियो र उनी परीक्षणका लागि आए । उनमा डेंगी र कोभिड – १९ देखियो । त्यसपछि दिदी, आमा बुबा र छोरा गरी अरु सदस्यको पनि परीक्षण भयो । सबैको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अहिले सबैलाई यहि राखिएको छ,’ उनले भने ।
डा राजभण्डारीले उनीहरु असन र महावौद्धको बीच तिर व्यापार गर्ने व्यक्ति भएको तर आफूहरुले अहिले पसल नखोलेको बताएको जानकारी दिए ।
उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि आज वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गरिदिनुपरयो भन्दै टेकु पुगेका थिए । तर टेकुले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरुको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको छ ।
डा राजभण्डारीले पछिल्लो समय उपत्यकामा देखिएका केशहरुमा समेत लक्षण देखिएको र स्थानीय तहमै संक्रमण भएको हुनसक्ने भन्दै सावधानी निकै जरुरी रहेको बताए ।
‘पहिले भन्दा अब सावधानी अझ बढी गर्नुपर्ने जरुरी देखियो । उपत्यकामा पनि संक्रमणको अवस्था सन्तोषजनक छ भन्ने अवस्था अव छैन् । त्यसैले नआत्तिउ तर सतर्क अपनाउँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

