सातवटा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन भित्रियो

काठमाडौँ, ६ साउन । सरकारले कोरोना परीक्षणमा चुस्तता ल्याउन भन्दै सातवटा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन खरीद गरेको छ । प्रति मेसिन ३६ लाख ३३ हजार रुपैयाँ पर्ने मेसिनलाई सातै प्रदेशमा पठाउने बताएको छ ।
सोमबार राती हिमालयन एयरलायन्सको चार्टविमानले सातवटै मेसिन काठमाडौँ ल्याएको छ । सोही विमानमा तीन लाख थान आरएनए एक्सट्रयाक्सन किट पनि भित्र्याएको छ ।
यसको मूल्य भ्याटबाहेक प्रति किट २०९ रुपैयाँ रहेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेलले बताए ।
विभागले आरएनए एक्सट्रयाक्सन किट ५ लाख ल्याउने सम्झौँता गरेको हो । यद्धपी पहिलो लटमा ३ लाख आएको खरेलले स्पष्ट पारे ।
‘अटोमेटेड मेसिन आइसकेपछि अहिले आरएनए एक्सट्रयाक्सन गर्नका लागि चाहिने ४ ६ घण्टाको समय घटेर एक घण्टामा झर्ने छ । एक्सट्रयाक्सन पछि पीसीआर मेसिनमा राखेको दुईघण्टामै रिपोर्ट आउने छ । यसले हाम्रो परीक्षण गर्ने क्षमतालाई थप अभिवृद्धि गर्नेछ,’ डा खरेलले भने ।
सरकारले अहिले देशका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दै आएको छ । पछिल्लो हप्ताको विवरण हेर्ने हो भने औषत ४ हजारको हाराहारीमा दैनिक परीक्षण हुने गरेको छ । यो अटोमेटेड मेसिन आइसकेपछि यी प्रयोशालाको क्षमतामा भारीबृद्धि हुने बताइएको छ । ‘एउटै मेसिनले सहज रुपमा हजारभन्दा बढी नमूना परीक्षण गर्न सक्छ,’ डा खरेलले भने ।
त्यसो त सरकारले अहिले चलिरहेका भन्दा अझै थप ५ वटा मेसिन सञ्चालनमा ल्याउने बताइसकेको छ । यस्तै केही निजी प्रयोगशालालाई समेत परीक्षणका लागि अनुमति दिइसकेको अवस्था छ ।
अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन कहाँ कहाँ राखिदैछ ?
व्यवस्थापन महाशाखाका निर्देशक डा खरेलका अनुसार प्रदेश नं १ मा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा, प्रदेश नं २ मा नारायणी अस्पताल वीरगञ्ज, बागमती प्रदेशमा निश्चित भइसकेको छैन् ।
गण्डकी प्रदेशमा प्रादेशिक अस्पताल पोखरा, प्रदेश नं ५ मा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिम प्रदेशमा सेती अस्पतालमा पठाउने निर्णय भएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

