कोरोना भाइरसको परीक्षण घटाएको छैनौं : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौँ, २९ असार । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड – १९) को परीक्षणमा कमि नगरिएको बताएका छन् । केही दिन यता ४ हजारको हाराहारीमा परीक्षण भएपछि कतिपयले सरकारले परीक्षणको दर ह्वात्तै घटाई संक्रमणको संख्यामा कमी देखाएको आरोप लगाएका थिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले तयार गरेको सन्देशमुलक सामग्री ग्रहण गर्ने क्रममा मन्त्री ढकालले भने, ‘कतिपयले अनुमान गरे जस्तो परीक्षण नै नगरी संक्रमणको दर घटाएको भन्ने कुरामा सत्यता छैन् । अहिले बाहिर विशेष गरी भारतबाट आएर क्वारेन्टिनमा रहनेहरुको संख्या समेत कम हुँदै जाँदा नमूना संकलन नै कम रहेको र संक्रमण दरमा समेत कमि आएको हो ।’ उनले समुदायमा संक्रमण छ कि छैन भनेर हेर्नका लागि अहिले उपत्यका सहित देशैभरबाट ४५ हजार बढी नमूना संकलन गरेको र त्यसको नतिजा पछि देशमा कोरोना संक्रमणको अवस्था अझ प्रष्ट हुने बताए ।

आफूले १५ असारबाट १० हजार जनाको परीक्षण गर्ने घोषणा गरेपनि अहिले त्यसको आवश्यकता नै नरहेको बताए । उनले आवश्यक परेको खण्डमा भने प्रयोगशालाको क्षमता दैनिक १० हजार गर्न सक्ने अवस्थामा रहेको दावी गरे । ‘ अहिले हामी आवश्यक परेको खण्डमा सहजै रुपमा १० हजार परीक्षण गर्न सक्छौँ तर त्यति धेरै परीक्षण गर्नुपर्ने अवस्था अहिले छैन्,’ उनले भने ।

उनले संख्या घट्दै जाँदा बाहिरबाट आउनेहरुको व्यवस्थानमा थप सुधार गरेर व्यवस्थित गर्ने योजनामा रहेको बताए । ‘भारतबाट आउनेहरुलाई नाकामै होल्डिङ सेन्टर बनाउने र तेस्रो मुलुकबाट आउनेहरुलाई काठमाडौँमा होल्डिङ सेन्टर बनाई सहज र व्यवस्थित परीक्षण गरी ढुक्क भएर मात्रै घर तर्फ पठाउने व्यवस्था मिलाउने योजना गर्दैछौँ,’ उनले भने ।

सोमबार दिउसो स्वास्थ्य मन्त्री ढकाललाई मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ सेवन नगरौँ भन्ने सन्देश छापिएको ज्याकेट, नोटबुक र पेनड्राइभ जस्ता सामग्री हस्तान्तरण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *