कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेशन कक्ष’

घोडाघोडी, ३ असार । कैलालीका स्थानीय तहहरुले कोरोना सङ्क्रमितको स्थानीय तहमा नै उपचार गर्न आइसोलेशन निर्माण गरेका छन् ।

घोडाघोडी, टीकापुर, गौरीगङ्गा र लम्किचुहा नगरपालिकाले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशन अनुसार आइसोलेशन निर्माण गरिसकेका छन् ।घोडाघोडी नगरपालिकाले स्थानीय घोडाघोडी क्याम्पसमा २० श्ययाको आइसोलेशन वार्ड बनाएको छ । एकजनामा कोरोना पुष्टि भइसकेको र ७० जनामा आरडिटी पोजेटिभ देखिएपछि सम्भावित जोखिमलाई ध्यानमा दिँदै आइसोलेशन निर्माण गरिएको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए ।

टीकापुर अस्पतालमा १२ श्यया छन् । अस्पतालमा रहेका श्यया अपुग हुने स्थिति देखिएपछि टीकापुर नगरपालिकाले नजीकैका केही स्थानीय तहको समन्वयमा पुरानो सिटी हललार्ई ५० श्ययाको आइसोलेशन कक्ष बनाएको छ । स्थितिको आँकलन गरेर आइसोलेशन थपिएको र ५० श्ययाले पनि नपुगे थप व्यवस्थापन गरिने नगरप्रमुख तपेन्द्र रावलले बताए ।

गौरीगङ्गा नगरपालिकाले ५० श्ययाको आइसोलेशन वार्ड निर्माण गरेको छ । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सकसहितको सेवा रहेकाले नगरपालिकाले अक्सिजन र नेबुलाइजर सेवासहितको आइसोलेशन वार्ड बनाएको उपप्रमुख अन्चला चौधरीले जानकारी दिए। उनका अनुसार केही समयअघि नगरपालिकामा देखिएका सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालले ठाउँ नभएको भन्दै फर्काएकाले आइसोलेशन निर्माण गरिएको हो ।

स्थानीयस्तरमा सञ्चालित होटेल मुनवुन भिल्लालाई लम्की चुहा नगरपालिकाले २५ श्ययाको आइसोलेशन बनाएको छ । आफ्नो नगरपालिकामा कोरोनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै तथा थप जोखिम बढ्न नदिनका लागि नगरपालिकाले आइसोलेशन स्थापना गरिएको नगरप्रमुख महादेव बजगाईं जानकारी दिए । नगरपालिकामा भित्रनेहरूको क्रम अझै जारी भएकाले पनि जोखिम कायमै रहेको उनले बताए ।

सुदूरपश्चिममा कोरोना परीक्षण र व्यवस्थापनको नयाँ मापदण्ड स्वास्थ्य निर्देशनालयले तोकेपछि स्थानीय तहहरू आइसोलेशन निर्माणमा जुटेका हुन् । कोरोनाको सङ्क्रमण देखिएकाहरूलाई अहिले स्थानीय तहले बनाएका आइसोलेशनमा राखेर उपचार गरिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *