सुर्खेतमा मृत्यु भएका युवामा कोरोना पुष्टी, कुल मृत्युको संख्या ११ पुग्यो
सुर्खेत, २३ जेठ । बुधबार राती मृत्यु भएका सुर्खेतका एक जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका – १ हाँसे गाँउका ती युवाको मृत्युपछि स्वाब झिकेर बिहीबार पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।
भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।
१४ दिन क्वारेन्टिनमा बसेका उनको र्यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो।
बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए।यो सहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। कर्णालीमा भने दुई जना पुगेको छ। यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो।
पछिल्लो पनि मृत्यु पछि कोरोना पुष्टि भएको केश हो । नेपालमा अहिलेसम्म मृत्यु भएको ११ मध्ये २ जनाको मात्रै मृत्यु अघि कोरोना भएको थाह भएको थियो । बाँकी ९ जनाको भने मृत्यु पछि जाँच गर्दा मात्रै कोरोना पुष्टि भएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



