बोस्टनले गर्यो, ‘कोभिड-१९ बारे जान्नै पर्ने कुरा’
चितवन, १२ बैशाख । बोस्टन ईन्टरनेशनल कलेज, भरतपुरले संयुक्त राज्य अमेरिकाका डा. एनेट एम. डेभिडबाट ‘कोभिड-१९ जान्नैपर्ने कुराहरु’ बिषयक कार्यक्रम ‘जुम’ सफ्टवयरको माध्ययम बाट सम्पन्न गरेको छ। शुक्रबार बिहान ८ बजे सुरु भएको कार्यक्रम ९ : २० बजेसम्म चलेको थियो । बोस्टनका विद्यार्थी, अध्यापक, सामाजिक अगुवाहरु गरी ७५ जना बढीको सहभागिता थियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा विष्णुराज तिवारी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक राजेश ठकुराठी, र पोखरा विश्वविद्यालयमा संबन्धन प्राप्त शैक्षिक संस्थाहरुको छाता संगठन, “ओपेन” का अध्यक्ष नवराज पाण्डेको विषेश उपस्थिति रहेको थियो। त्यस्तै गरि विभिन्न मिडिया हाउसका सम्पादकहरुको पनि उपस्थिति रहेको वोस्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए ।
कार्यक्रममा डा एनेटले कोभिड-१९, कोरोना भाईरस प्रजातिका थुप्रै भाईरसहरु मध्येको केवल एक भाईरस रहेको जानकारी दिइन । कोरोना भाईरस प्रजातिका भाईरसहरु मुख्यतया अन्य जनावरहरुमा लाग्ने तर कहिलेकाँही जिनको बदलाव भएसँगै, जनावरबाट मान्छेमा सर्ने गरेको उल्लेख गरिन् । सन् २००२ को सार्स भाईरस, २०१२ को मर्स भाईरस र हालको कोभिड-१९ भाईरस यसै प्रकियाको उपज रहेको उनले बताइन ।
हालसम्म कोभिड- १९ को निदानका लागि थुप्रै प्रयासहरु भएपनि र विभिन्न सञ्चारमाध्यमहरुमा विभिन्न औषधिहरुबाट सफल निदान भएका समाचारहरु प्रकाशित भएतापनि यस भाईरसको आधिकारीक र सर्वमान्य औषधि एवम् खोप भने पत्ता नलागेको जानकारी दिइन । औषधि र खोपको आविस्कार हुनुदेखि स्वीकृत हुनु सम्म विभिन्न चरणका परिक्षणहरु गर्नुपर्ने भएकाले यो भाईरसको निदान तत्कालै निस्किन गाह्रो रहेको उनको भनाई थियो ।
रोकथामका उपायहरुका बारेमा बोल्दै उनले मानिसबीच भौतिक दुरी कायम गर्नु नै मुख्य उपाय रहेको जानकारी दिइन । त्यस्तै गरि कोभिड – १९ मा पोजेटिभ टेस्ट भएकाहरुमध्ये अनुसन्धान गर्दा करिब ८० प्रतिशत केसहरुमा कुनैपनि लक्षण नदेखिएको पाईएकोले भौतिक दुरी कायम गर्ने, अरुमा संक्रमण फैलिन नदिनको लागि अनिवार्य मास्क लगाउने, सावुनपानीले वेला वेलामा हात धुने र हातले छुने कुराहरु जस्तै ढोकाको हेन्डल, मोबाईल फोन, किबोर्ड, लगायतका कुराहरुलाई पनि बेलाबेलामा स्यानिटाईज गर्नुपर्नेमा उनले जोड दिइन ।
करिब एक घण्टाको किनोट प्रस्तुति पछि, कार्यक्रम प्रश्नउत्तर चरणमा प्रवेश गरेको थियो जसमा सहभागिहरुका विभिन्न जिज्ञासाहरुमा डा. एनेटले प्रकाश पारिदिएकी थिइन । कार्यक्रममा बोस्टन कलेजका ईन्क्युवेसन प्रमुख प्रेम गैरेले सञ्चालकको भुमिका निर्वाह गरेका थिए ।
को हुन् डा. एनेट ?
डा. एनेट डेभिड (एमडी, एमपिएच) एक ईन्टर्निस्ट एवम् पेशागत र वातावरणीय औषधी विज्ञ हुन् । उनी विश्व स्वास्थ्य संगठनको ‘टोबाको फ्रि ईनिसियटिभ’ मा क्षेत्रिय सल्लाहकारको भूमिका काम गरेपश्चात अमेरिकाको ग्वाम राज्यमा स्थानान्तरण भइन ।
अहिले ग्वाम राज्यको स्वास्थ्य विभागमा सुर्तीजन्य पदार्थको रोकथामका लागि परामर्शदाता पनि हुन भने जोन हप्किन्स् स्कुल अफ पब्लिक हेल्थमा अतिथि प्राध्यापक रहेकी छन् । उनी अमेरिकन क्यान्सर सोसाईटीको हवाई पेसिफिकको बोर्डमा पनि आवद्ध रहेकी छन् ।
सम्पर्क इमेल : [email protected]