कोरोनाको असर : मिर्गौला प्रत्यारोपण रोकियो, डायलासिस सेवा निरन्तर
काठमाडौँ, ३ बैशाख । कोरोना भाइरसको संक्रमण बढेसंगै नेपालका विभिन्न अस्पतालमा हुने मिर्गौला प्रत्यारोपण सेवा रोकिएको छ । यद्धपी मिर्गौलाका विरामीहरुले नियमित रुपमा गर्नुपर्ने डायलासिस सेवा भने निरन्तर चलेको छ ।
सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण हुने भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अहिले प्रत्यारोपण पूर्ण रुपमा रोकिएको छ । यस्तै अर्को सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालमा पनि यो सेवा अहिले बन्द छ । यस्तै यो सेवा दिएका वीर अस्पताल, ग्राण्डी अस्पताल, निदान अस्पताल, सुमेरु अस्पताल, चितवनको पुरानो मेडिकल कलेजले पनि अहिले प्रत्यारोपण सेवा रोकेका छन् ।
भक्तपुरस्थित प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले संक्रमणको जोखिम हुने भएपछि प्रत्यारोपण स्थगित गरेको बताए । उनले भने, ‘हामीले सातामा ३ देखि ८ वटा सम्म प्रत्यारोपण गर्दथ्यौँ । तर अहिले पूर्ण रुपमा रोकेका छौँ ।’
उनले मिर्गौला फेल भएका विरामीका लागि दिइदै आएको डायलासिस सेवा जारी राखेको जानकारी दिए ।
यता त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख प्राडा दिव्यासिंह शाहले पनि प्रत्यारोपण सेवा स्थगित गरेको बताइन । ‘यो बेला प्रत्यारोपण गर्दा संक्रमणको अति बढी खतरा हुन्छ । त्यसैले हामीले प्रत्यारोपण सेवा रोकेका छौँ,’ उनले भनिन् । त्रिवि शिक्षण अस्पतालमा साता दुई वटा प्रत्यारोपण हुने गर्दथ्यो ।
निजी अस्पतालमा सबैभन्दा बढी प्रत्यारोपण गरेको ग्राण्डीमा पनि अहिले सो सेवा रोकिएको बताइएको छ ।
‘नेपालमा मात्रै होइन विश्वका अधिकांश देशमा प्रत्यारोपण रोकिएको अवस्था छ । कारण एउटै छ संक्रमणको जोखिम,’ प्राडा शाहले भनिन् ।
प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठ भन्छन्, ‘विरामीलाई रोग प्रतिरोधात्मक क्षमता घटाउने इमिन्यो सप्रेसन औषधि चलाउनुपर्छ । र प्रत्यारोपणमा धेरै जना सहभागी हुनुपर्छ । त्यसैले संक्रमणको जोखिम हुन्छ ।’
प्रत्यारोपण रोकिएपनि अहिले देशभर संचालनमा रहेका डायलासिस सेन्टरहरुले मिर्गौला फेल भएका विरामीलाई डायलासिस सेवा दिइ रहेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


