चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

516
Shares

काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताएका हुन् ।

उनले सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए । उनले भने, ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ।’

उनले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था गरेको बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको उल्लेख गरे । मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याए ।

उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको बताए । मन्त्री ढकालले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको जानकारी दिए । उनले भने ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।’

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पिपिइ हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पिपिइ हस्तान्तरण गरेको छ । संकटको समयमा सरकारलाइ सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुबै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

पिपिइ हस्तान्तरण कार्यक्रममा शहरी विकास राज्यममन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थित रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *