भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ९६ जनाको नमूना संकलन
काठमाडौँ, २१ चैत । हवाई यात्रा प्रतिवन्ध गरिसकेपछि सिल्क एयर तथा थाईबाट काठमाडौँ आएका ९६ जनालाई सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत तालिमकेन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखेको थियो । उनीहरुलाई त्यहाँ राखेको १४ दिन पुगेपछि थ्रोट स्वावको नमूना संकलन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार ‘कोरोना अपडेट’मा कोरोना परीक्षणका लागि ९६ जनाको नमूना संकलन भएको बताए । उनले कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका अरु ९२ जनाको पनि नमूना संकलन गरी परीक्षणको प्रक्रियामा राखिएको जानकारी दिए ।
शुक्रबार दिउसोसम्म १२७७ जनाको कोरोना परीक्षण
उनले शुक्रबार दिउसोसम्म १ हजार २७७ जनाको परीक्षण भएको बताए । उनले उपत्यकामा १०० भन्दा बढी, उपत्यका बाहिर धरानमा ३९, पोखरामा १९, हेटौडामा ५, जनकपुरमा ५, सुर्खेतमा ७ र धनगढीमा ४ जनाको परीक्षण भएको जानकारी दिए । उनले बुटवलमा भने पोर्टेवल मेसिनको जडान कार्य हुदै गरेको बताए ।
देशभरका आइसोलेसनमा १२० जना
प्रवक्ता डा देवकोटाले कोरोना आशंकामा देशभरका विभिन्न अस्पतालमा १२० जना उपचाररत रहेको बताए । उनले उपत्यकामा १५ जना र उपत्यका बाहिर १०५ जना रहेको स्पष्ट पारे ।
उनले अहिलेसम्म कुल ६ जना कोरोना पोजेटिभ भेटिएको, तीमध्ये एक जना निको भएर घर फर्केको, बाँकी ५ जना उपचारकै क्रममा रहेको र स्वासथ्य अवस्था सामान्य भएको बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

