कोरोनाविरुद्धको सतर्कता : नेपाल मेडिकल काउन्सिलद्धारा लाइसेन्स परीक्षा स्थगित
काठमाडौँ, ४ चैत । नेपाल मेडिकल काउन्सिलले आगामी ८ चैतमा हुने तयारीमा रहेको एमबीबीएस र बीडीएस तहको नामदर्ता( लाइसेन्स) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध सतर्कता अपनाउन परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमण विश्वयापी महामारी ( पाण्डामिक) भएको घोषित भइसकेको र नेपालमा उच्च जोखिमको सूचीमा रहेको अवस्थामा सतर्कता नै पहिलो विकल्प हो भन्दै परीक्षा स्थगित गरेको बताए । उनले यसपटकको परीक्षामा सहभागी हुन एमबीबीएस तथा बीडीएस उत्तीर्ण १ हजार ६० जनाले आवेदन दिएको समेत उल्लेख गरे ।
त्यसो त काउन्सिलले यो निर्णय यत्तिकै लिएको भने होइन । सोमबार मात्रै परीक्षा सञ्चालन गर्ने कि नगर्ने भनेर स्वास्थ्य क्षेत्रका विज्ञसंग विशेष परामर्श बैठक आयोजना गरेको थियो । विज्ञसमूहले अहिले भिडभाड र परीक्षा लिने कार्य गर्नु आत्मघाती हुने भन्दै कडा रुपमा सुझाव दिएपछि काउन्सिलले यो परीक्षा स्थगित गर्ने निर्ण गरेको हो ।
‘चीन, इटाली र इरानमा त्यहि भएको हो । एसिया, युरोपका तथा अमेरिकाका विकसित देशहरुले हामीकहाँ आएको छैन्, अब आयो भने गरौँला भनेर गम्भीरता नलिदा अहिलेको अवस्था आएको हो । नेपालमा पनि आएको छैन भनेर हेलचेक्राई गर्दा ठूलो जोखिम हुनसक्छ । यसमा सरकारको जिम्मेवार निकायहरु बेलैमा सचेत हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष रहयो,’ डा. अधिकारीले भने ।
एसईईको परीक्षा लिनु जोखिम पूर्ण कार्य
काउन्सिलले आफूले परीक्षा नलिएपनि शिक्षा मन्त्रालयले भने भोलिबाट एसईई परीक्षा सञ्चालन गर्दैछ । परीक्षा लिने कि नलिने भन्ने अन्योलकाबीचमा मन्त्रालयले लिने निर्णय गरेको छ । तर काउन्सिलले यो खतरा निम्त्याउने कार्य भएको टिप्पणी गरेको छ ।
प्रवक्ता अधिकारीले भने, ‘हामीले अर्को निकायमा बोल्नु त मिल्दैन तर कोरोना भाइरसको यति जोखिम भएको र पाण्डमिक घोषणा गरेको अवस्थामा परीक्षा सञ्चालन गर्नु जोखिमपूर्ण अवस्था हुने हाम्रो निस्कर्ष हो ।’
विज्ञको सुझावलाई जोड्दै अधिकारीले अगाडी थपे, ‘हामीले भाइरसको संक्रमण हुने अवस्था आउन नदिने नै एकमात्र उत्तम विकल्प हो । आएपछि पनि नियन्त्रण गरौँला भनेर सोचिएको छ भने त्यो मुर्खता हुनेछ । ठूलो मुल्य चुकाउनुपर्नेछ ।’
कोरोना सम्भावित जोखिम विरुद्ध काम गर्ने तयारी
काउन्सिले अब परीक्षा स्थगित गरेपनि स्वास्थ्यकर्मी र आम सर्वसाधारणमाझ सचेतना र तयारी गर्ने सम्वन्धी निर्देशिका तयार गर्ने र सुझाव दिने काम अघि बढाउने भएको छ ।
डा. अधिकारीले अब भिडभाड नगर्ने, अस्पतालहरुले गर्नुपर्ने तयारीको बारेमा जानकारी दिने, चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाउनुपने सावधानीको बारेमा तयारी गराउने, अस्पतालमा शैया खाली राख्ने तर्फ ध्यान दिने लगायतका कार्यमा लाग्ने बताए ।
सम्पर्क इमेल : [email protected]