बालबालिकालाई खोप लगाउन अभिभावकलाई निम्ता

232
Shares

राजकुमार पराजुली


काभ्रेपलाञ्चोक, २९ फागुन । आफ्ना छोराछोरीलाई दादुरा–रुवेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाइएको छ । दादुरा–रुवेला खोप अभियानअन्तर्गत दोस्रो चरणको अभियानमा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सम्बन्धित बालबालिकाका अभिभावकलाई निमन्त्रणापत्र पठाएको हो ।

नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुवेलाविरुद्ध दोस्रो चरणको खोप कार्यक्रम आउँदो चैत २ गतेदेखि शुरु हुँदैछ । “स्वास्थ्य स्वयंसेविकामार्फत सबै बालबालिकाको अभिभावकलाई निम्तापत्र पठाइसकेका छौँ”, स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार सम्बन्धित स्थानीय तहका प्रमुख÷स्वास्थ्य संस्था प्रमुखले अभिभावकलाई सम्बोधन गरी निमन्त्रणापत्र पठाएका छन् ।

‘नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ’ भन्ने मूल नारासहित “नौदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउनु हुन सादर अनुरोध गदैछौँ”, व्यहोराको निम्तापत्र अभिभावकसमक्ष पठाइएको हो । यस अभियानअन्तर्गत जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका ३१ हजार ७९२ बालबालिकालाई उक्त खोप दिन लागिएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिनेछ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् । सन् २०१६ मा सञ्चालित दादुराविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यस अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको झाले बताए।

उनले भने, “बालबालिका तथा अभिभावकलाई सजिलो होस् भन्ने उद्देश्यले सवै बस्तीको पायक पर्ने स्थानमा खोप केन्द्र राखिएका छन् ।” उनका अनुसार जिल्लाका ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वस्थ्य सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन गर्ने योजना बनाइएको छ ।

वडा क्षेत्रका सम्पूर्ण बालबालिकाले दादुरा–रुवेला खोप लगाएको प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । “यसपालि कुनै बालबालिका खोपबाट छुटेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्षले लिनुपर्नेछ”, झाले भने । तर, ९५ प्रतिशतभन्दा माथिको सङ्ख्यामा बालबालिकाले खोप लिएको भए त्यसलाई ‘पूर्ण खोप’ मानिने नीति छ ।

खोप कार्यक्रमबारे सबै स्थानीय तहका वडामा फागुन मसान्तसम्ममा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुँदैछन् । काभ्रेपलाञ्चोकलाई दुई वर्षअघि नै ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिसकिएको छ ।

सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खाप दिएको थियो । अभियानको दोस्रो चरणअन्तर्गत वाग्मती, गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको हो । साथै यसै अभियानअन्तर्गत झापादेखि कञ्चनपुरसम्मका १६ जिल्लामा भने सब बालाबालिकालाई दादुरा–रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाउने कार्यक्रम छ ।

बालबालिकामा अङ्गभङ्ग तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन् २००४ बाट हरेक चार वर्षमा अभियानकै रुपमा सञ्चालन गरिँदै आइएको छ । नेपालमा खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने ठूलो औजारको रुपमा लिइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *