कोरोना विरुद्ध सर्वदलीय बैठकः ‘रोकथाम गर्न एकजुट हुनुपर्छ’

120
Shares

काठमाडौँ, २८ फागुन । प्रमुख प्रतिपक्षी दलले ‘कोभिड–१९’ रोकथामका लागि पूर्वतयारीलाई तीव्रता दिन सरकारलाई सुझाव दिएको छ । कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली काँग्रेसले कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएको होे ।

बैठकबारे जानकारी दिँदै नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सबै क्षेत्रले एकीकृत ढंगबाट कदम चाल्न सरकारलाई सुझाव दिएको बताए । कोरोना प्रभावित देशबाट नेपाल आउने नागरिकलाई कम्तीमा १४ दिन ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था गर्नुपर्ने, अस्पतालको सुविधा सुधार गर्नुपर्ने, हवाई र स्थलमार्ग हुँदै आउने व्यक्तिको जाँचलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको उनले उल्लेख गरे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम र प्रवेश हुन नदिने विषयलाई नै सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिए । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन नै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जनाएको सन्दर्भमा त्यसलाई राष्ट्रिय शक्ति एकजुट भएर कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रित रहेको जानकारी दिए ।

समितिका संयोजक तथा उपप्रधामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, राष्ट्रिय जनता पार्टीको तर्फबाट नेता राजेन्द्र महतो, समाजवादी पार्टीबाट सहअध्यक्ष श्रेष्ठ र सरकारका मन्त्रीहरुको सहभागिता थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *