प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गडबडी छैन् : त्रिवि शिक्षण अस्पताल
काठमाडौँ, २८ फागुन । एक साता अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
केही सञ्चारमाध्यममा ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै समाचार आएपछि अस्पतालको यस्तो धारणा आएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपण पछि प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको बताए । ‘केही समस्या छैन् । हामी त अब छिटै डिस्चार्ज गर्ने योजनामा छौँ । कहाँबाट आयो यस्तो हल्ला ?,’ प्रतिप्रश्न गर्दै उनले भने, ‘उहाँको उपचार गर्ने हामी हौँ । र हामीले भनिरहेका छौँ उहाँको स्वास्थ्य सन्तोषजनक रुपमा सुधार भइरहेको छ र छिटै डिस्चार्ज गर्दैछौँ । बाहिर लाने भन्ने कुरा कसरी आयो त्यो त हामीलाई थाह भएन । उहाँको स्वास्थ्य विग्रिएको भन्ने कुरा चाँही सत्यता होइन ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सिंगापुर लैजाने भन्ने कुरा १०१ प्रतिशत झुट र भ्रमपूर्ण रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अपेक्षित रुपमा सुधार हुँदै गएको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]