ह्याण्ड सेनिटाइजरको प्रयोग पछि मात्रै अस्पताल भित्र ‘इन्ट्री’
काठमाडौँ, २५ फागुन । चावहिलस्थित हेल्पिङह्याण्ड सामुदायिक अस्पतालले आफूकहाँ ‘इन्ट्री’ हुने जो सुकैलाई ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग अनिवार्य गरेको छ । कोरोना भाइरस (कोभिड – १९)को जोखिम न्युनिकरण गर्न अस्पतालले ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग अनिवार्य गरेको हो ।
‘हामीले अस्पताल छिर्ने जो कोही, चाहे त्यो विरामी वा तिनका आफन्त अथवा डाक्टर नर्स तथा अस्पतालका कर्मचारी जो सुकैलाई ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौँ,’ अस्पतालका प्रशासन निर्देशक रविन पोखरेलले भने ।
उनका अनुसार मुल गेटमा रहेका सुरक्षाकर्मीले ह्याण्ड स्यानिटाइज दिन्छन् र त्यो प्रयोग गरेपछि मात्रै अस्पताल भित्र जान सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाबाट जोगिने मुख्य उपायहरुमा हातको सफाई वा हातलाई संक्रमणरहित बनाउन भनेको छ । त्यहि नीति अनुरुप ह्याण्ड स्यानिटाइजर अनिवार्य गरेको पोखरेलले बताए ।
प्रशासन निर्देशक पोखरेलले अब छुट्टै फिवर क्लिनिक समेत सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ‘अस्पतालमा आउनेहरु विरामी नै हुन्छन्, ज्वरो आएका पनि हुन्छन् । त्यसैले अहिले हामीले ज्वरो भन्दा पनि ह्याण्ड स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरेका छौँ । निकट भविस्यमै हामीले परिसर बाहिर नै फिवर क्लिनिक खोल्ने योजनामा छौँ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम मुलकको सूचीमा राखेको छ । सरकारले यो भाइरसको संक्रमणबाट जोगिनका सरसफाई लगायतका कुराहरुमा विशेष ध्यान दिन आम जनतालाई आवहान गरेको छ ।
सम्पर्क इमेल : [email protected]