मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम बाग्मती प्रदेशभर शुरु
हेटौडा, २३ फागुन । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रले प्रदेशभित्रका सबै लक्षित वर्गलाई सेवा दिने बताएका छन् ।
मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमको बिहीबार हेटौँडा अस्पतालमा उद्घाटन गर्दै मन्त्री दुलालले परीक्षणका रुपमा सञ्चालन भएकाले गत वर्ष केही सीमित व्यक्तिले मात्र यसको सेवा लिन पाएको भए पनि अहिले भने यसको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गरिएको बताए ।
विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सजिलै परीक्षण गर्न र समयमा नै उपचार गर्नका लागि सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम पुनः सञ्चलान गर्न लागिएको मन्त्री दुलालले बताए ।
गत वर्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमलाई बिहीबारबाट विस्तारित रुपमा सञ्चालन प्रारम्भ गरिएको हो । प्रदेशका कुनै पनि व्यक्तिलाई नसर्ने रोगका बारेमा परीक्षण गरेर समयमा नै जानकारी होस भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको जनाइएको छ ।
प्रदेशको हेटौँडा अस्पताल सहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क रुपमा परीक्षण गर्ने र अन्यलाई न्यून शुल्कमा परीक्षण गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ । कार्यक्रमबाट नयाँ बिरामीको पहिचान भई समयमै उपचारका लागि सहजता हुने विश्वास गरिएको छ । आजबाट प्रदेशका १३ जिल्लाका १५ वटा अस्पतालबाट कार्यक्रम शुरु गरेको मन्त्रालयले जनाएको छ ।
अघिल्लो वर्ष परीक्षणको रुपमा प्रदेशका पाँच जिल्लाका पाँच वटा अस्पतालमा मात्र कार्यक्रम गरिएको थियो । विसं २०७७ असार २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । यसका लागि शनिबारबाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म तोकिएको अस्पतालमा नाम दर्ता गर्न सकिने जनाइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



