भारतले औषधि रोक्छ कि भनेर आत्तिनु पर्दैन चाहिने जति औषधि हामीसंग छ : औषधि आयातकर्ता संघ

11.3k
Shares

काठमाडौँ, २२ फागुन । नेपाल औषधि आयातकर्ता संघले भारतले औषधिको निर्यातमा रोक लगाउने घोषणा गर्दैमा नेपालीहरु आत्तिनु नपर्ने बताएको छ । उनले निर्यात रोक्ने भनिएका भारतीय कम्पनीका औषधि कम्तिमा चार महिनालाई पुग्ने गरी आफूसंग मौज्दात रहेको स्पष्ट पारेको छ ।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको थियो । जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले नेपालसंगै संसारभरी औषधिको अभाव हुने त्रास बढेको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आफूहरुसंग पर्याप्त औषधि मौज्दात रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन् । ‘हल्लाको पछि नलागौँ । भारतबाट औषधि ठप्प भएपनि हामीलाई कम्तिमा चार महिनालाई धान्ने औषधि हामीसंग मौज्दात छ । त्यसैले आत्तिएर धेरै किन्ने वा मौकाको फाइदा उठाउन भन्दै बढी मूल्य लिएर बेच्ने काम नगरौँ,’ उनले भने ।

मंगलबार मात्रै औषधि व्यवस्था विभागले भारतले औषधि रोक्दा नेपालमा पर्ने प्रभावको बारेमा सरोकारवालासंग छलफल राखेको थियो । सो अवसरमा आफूले स्पष्टसंग औषधिको मौज्दात रहेको भन्दै आम सर्वसाधारणलाई ढुक्क भएर रहन आग्रह गरेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *