नेपाल कोरोनाको अति जोखिमयुक्त सूचीमा परेपछि प्रधानमन्त्रीले डाके आकस्मिक बैठक, भयो ६ बुँदे निर्णय

2.2k
Shares

काठमाडौँ, १७ फागुन ।  नेपाल कोरोना भाइरसको अति जोखिमयुक्त सूचीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीस्तरीय आकस्मिक बैठक डाकेका छन् ।

बालुवाटारमा आज बसेको बैठकले कोरोना नियन्त्रण गर्न ६ बुँदे निर्णय गरेको छ ।

बैठकमा सहभागी भएका स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार आजको बैठकले मुख्य त निम्नअनुसारको निर्णय गरेको छ ।

१. उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समिति
कोरोना जोखिमबाट जोगिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, स्वास्थ्य, पराराष्ट, शिक्षा, पर्यटन, अर्थ, कृषि, सञ्चार मन्त्री सदस्य रहने उच्चस्तरीय कमिटि बनाएको छ । यसले आन्तरिक तथा बाहिय अवस्थाको आँकलन गरी आवश्यक निर्णय लिने र सम्वन्धित निकायलाई निर्देशन दिने जिम्मेवारी पाएको छ ।

२.  उडान स्थगित गर्ने बारेमा एक दुई दिन भित्र निर्णय हुन्छ
कोरोना भाइरसको संक्रमण अहिलेसम्म ६० देशमा पुगिसकेको छ । विभिन्न देशहरुले कोरोना प्रभावित क्षेत्रमा हवाई उडान रोकेका छन् । स्वास्थ्य मन्त्री ढकालले त्यसबारेमा पनि कुरा उठेको र एक दुई दिनमा निर्णय हुने जानकारी दिए । ‘कोरोनाबाट प्रत्यक्ष रुपमा प्रभावित स्थान र मुलुकमा उडानको बारेमा यो कमिटिले एक दुई दिन भित्र बैठक बसेर निर्णय गर्नेछ,’ उनले भने ।

३. त्रिभुवन विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य जाँच, नेपाल आउनका लागि कोरोना मुक्त हुनुपर्ने

बैठकले त्रिभुवन विमानस्थलमा छिर्ने हरेक यात्रुको कडाईका साथ स्वास्थ्य जाँच गर्ने निर्णय गरेको छ । यस्तै विदेशबाट नेपाल आउनका लागि हरेक व्यक्तिले कोरोना छैन भन्ने प्रमाणित भएको हुनुपर्ने नियम समेत लगाउँदै छ । त्यसका लागि विभिन्न एडभाइजरी जारी गर्ने समेत योजना छ ।

४. प्रभावित क्षेत्रबाट आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने, व्यवस्थापन स्वयंको

अब कोरोना प्रभावित देशबाट नेपालीलाई स्वेच्छाले आउन पाउने तर आएपछि १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने व्यवस्था लागू हुने भएको छ । र सो क्वारेन्टाइनको सबै व्यवस्थापन व्यक्ति स्वयंले मिलाउनुपर्ने निर्देशन दिइने स्वास्थ्य मन्त्री ढकालले बताए । ‘अब क्वारेन्टाइनमा बस्नै पर्छ र त्यसको व्यवस्था स्वयं व्यक्ति र परिवारले गर्नुपर्ने व्यवस्था मिलाउँदै छौँ ,’ उनले भने ।

५.  एयर लिफ्ट गरेर  ल्याउँदैन
स्वास्थ्य मन्त्री ढकाल भन्छन्, ‘कोरोना प्रभावित देशमा रहेका नेपालीलाई अब जे सुकै होस सबै आफै गर भनेर सरकार उम्किने भन्ने होइन । परिस्थिति अनुसार कदम चाल्दछ । तर सकेसम्म अब आफै नै जोगिने हो । आफै सुरक्षित हुने हो । चीनमा थोरै थिए तर कोरिया र मध्येपूर्वका देशहरुको संख्या हेर्ने हो भने लाखौँमा छ । ती सबैलाई एयर लिफ्ट गरेर ल्याउने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा कति सम्भव छ । त्यो पनि बिचार गर्नुपर्ने हुन्छ ।’

६ नेपाल भ्रमणवर्षको अन्तराष्टिय क्याम्पियन स्थगित, सम्मेलनहरुको बारेमा सरकारलाई जानकारी अनिवार्य

सरकारले नेपाल भ्रमण बर्षको अन्तराष्टिय क्याम्पियन स्थगित गरेको छ । स्वास्थ्य मन्त्री ढकाल भन्छन् , बरु आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने, अहिले बाहिय पर्यटकलार्य प्रवर्धन गर्ने कार्य स्थिगित भएको छ ।

नेपालमा गर्ने भनिएका अन्तराष्टिय स्तरका गोष्टी सम्मेलन आदिको बारेमा पुर्नबिचार गर्ने, सरकारलाई जानकारी दिने र त्यसबारेमा सरकारले आवश्यक निर्दैशन दिन सक्ने भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *