अस्पतालमा भएको मृत्यु स्वभाविक कि अस्वभाविक ? काउन्सिलको छानबिन अब संयुक्त रुपमा
काठमाडौँ, १० फागुन । कहिलेकाँही अस्पतालमा सामान्य ठानिएको बिरामीको एक्कासी ज्यान जाने गर्दछ । र, धेरै ठाँउमा यसरी ज्यान जानासाथ पहिलो चार्ज डाक्टरमाथि लाग्ने गर्दछ ।
डाक्टरको लापर्वाहीले बिरामीको मृत्यु वा अस्पतालको लापर्वाहीले विरामीको भएको भन्दै आन्दोलन हुनथाल्छ, तोडफोड सुरु हुन्छ । त्यसपछि सुरु हुन्छ बार्ता अनि क्षतिपूर्तिमा पुगेर कुरा मिलाईन्छ । आन्दोलन र तोडफोडमा नउत्रने कोही कोहीले मेडिकल काउन्सिलमा उजुरी दिन्छन् र माग गर्छन् डाक्टरमाथि कडा कारवाही होस् । तर काउन्सिलले त्यसरी कारवाही गरेको पाइदैन ।
किन् ? काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी भन्छन्, ‘त्यो उजुरीमा डाक्टरको कारण मान्छेको मृत्यु नभएको पनि हुनसक्छ । अस्पतालमा भर्ना भएको बिरामीको अस्वभाविक मृत्यु हुनुको अन्य कारण पनि हुनसक्छ ।’
त्यसैलाई मध्यनजर गर्दै मेडिकल काउन्सिलले अव देखि यस्ता खालका घटनाको छानवनी गर्न स्वास्थ्यसंग आवद्ध अरु पाँचवटा चारवटा काउन्सिललाई पनि संगै लिएर अघि बढ्ने भएको छ ।
रजिष्ट्रार डा अधिकारी भन्छन्, ‘अस्पतालमा भएका भनिएका लापर्वाहीको छानवीन गर्न अब मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, आयुर्वेद काउन्सिल, हेल्थ प्रोफेसनल काउन्सिल र फार्मेसी काउन्सिलसंगै जान्छ र छानवीन अघि बढाउँछ ।’
उनले अस्पतालमा औषधिको कारणले, संक्रमणको कारणले, योग्यताको कारणले, अरु प्यारामेडिक्स तथा नर्सको कारणले आदि धेरै कारणले समस्या निम्तिन सक्ने भन्दै पाँचवटै काउन्सिलले संयुक्त रुपमा अनुगमन तथा छानवीन गर्ने निर्णय भएको बताए ।
शुरुवात नेपाल मेडिकल कलेजबाट
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा केही दिन अघि शल्यक्रियाबाट सुत्केरी भएका महिलाहरुमा एउटै खालको समस्या देखियो । बिरामीहरुमा एक पछि अर्को गर्दै एउटै खालको समस्या देखिएपछि अहिले कलेजले शल्यक्रिया कक्ष नै बन्द गरेको छ ।
यस्तै समस्या बीरगञ्जमा पनि आएको छ । त्यहाँ पनि सामान्य मानिने शल्यक्रियाद्धारा सुत्केरी गराउँदा केही सुत्केरीको मृत्यु भएको छ । एउटै खालको लक्षण देखिएर सामान्य अवस्था ठानिएको केश जटिल अवस्थामा पुगेको खबर थाह पाएपछि काउन्सिलले त्यहाँ पनि छानवीन गर्न पुगेको थियो । दुबैठाँउको घटना विश्लेषण गरी काउन्सिलले अब देखि यस्ता केशमा पाँचवटै काउन्सिल संगै अघि बढ्ने निर्णय गरेको हो ।
डा अधिकारी भन्छन्, ‘विहीबार अनौपचारिक रुपमा नेपाल मेडिकल कलेजको केशको बारेमा बुझ्न गईयो । पाँचवटै काउन्सिलसंग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए । अव यस्तै गरी अरु केशमा पनि संयुक्त रुपमा गइन्छ ।’
‘त्यहाँ नर्सको पो गल्ती थियो कि ? औषधिको पो गल्ती थियो कि ? अरु प्यारामेडिक्सको पो थियो कि ? त्यसैले हामी सबै स्थलगत रुपमा गएर बुझ्ने क्रम भएको छ,’ डा अधिकारीले भने ।
त्यसो त यतिवेला निजी अस्पतालमा लापरवाही भयो भन्दै आन्दोलन चर्काउने, आर्थिक लाभ लिने र सामसुम पार्ने गिरोह पनि संक्रिय छ । यसले न अस्पताल, न डाक्टर र न पिडीत पक्षलाई फाइदा पुग्छ ।
बरु काउन्सिलको यो संयुक्त छानवनी गर्ने प्रक्रिया अघि बढ्यो भने अनाहकमा डाक्टरमाथि लाग्ने चार्जमा भने कमि आउन सक्छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



