कोरोना भाइरसका कारण ‘बिरामी सुरक्षा’सम्वन्धी मन्त्रीस्तरीय सम्मेलन स्थगित
काठमाडौँ, ९ फागुन । स्वीजरल्याण्डमा आगामी हप्ता हुने भनिएको बिरामी सुरक्षा (प्यासेन्ट सेफ्टी) सम्वन्धी मन्त्रीस्तरीय पाँचौँ सम्मेलन स्थगित भएको छ । नयाँ कोरोना भाइरस (कोभिड – १९)को महामारीबाट जोगाउन मन्त्री तथा विज्ञहरु आ आफ्नै देशमा खटिनुपर्ने भन्दै सम्मेलन स्थगित गरिएको आयोजकले जनाएको छ ।
स्वीजरल्याण्ड सरकारको आयोजनामा सो बैठक २७ र २८ फेव्रअरीका दिन मोट्रिक्समा हुँदै थियो । सम्मेलनमा विभिन्न देशका स्वास्थ्य मन्त्री, सचिव तथा स्वास्थ्य अधिकारीका साथै स्वास्थ्य विज्ञहरु सहभागी हुँदै थिए । सम्मेलन भाग लिन नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको नेतृत्वमा एक टोली जाँदै थियो ।
‘तर सो कार्यक्रम स्थगित भएको इमेल आएको छ । अब त्यसतर्फ जाने कार्यक्रम पनि स्वत स्थगित भयो,’ स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलले भने ।
बिरामी सुरक्षा सम्वन्धी नीतिगत निर्णय तथा अनुभव आदानप्रदान गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१६ देखि विरामी सुरक्षा सम्वन्धी सम्मेलन् हुँदै आएको थियो । यसपटक गर्ने भनिएको पाँचौँ सम्मेलन थियो ।
कोरोना भाइरसको प्रकोप नियन्त्रणमा नआउँदा पूर्व निर्धारित अन्तराष्ट्रियस्तरका यस्ता गोष्टी सभा र सम्मेलन स्थगित हुने गरेको छ ।
सम्पर्क इमेल : [email protected]