चीनबाट उद्धार गरी खरिपाटीमा राखिएका १७५ जना नेपाली स्वस्थ
काठमाडौँ, ७ फागुन । चीनको हुवेई प्रान्तबाट ल्याएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई चीनबाट ल्याई क्वारेन्टाइनमा राखिए लगत्तै गत ४ फागुनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएका प्राविधिकहरुले नाक र घाँटी भित्रको स्वाब झिकेर परीक्षण गराएका थिए । ‘ती सबैको रिपोर्ट हिजो आयो । र सबै कोरोनाभाइरस नेगेटिभ आयो,’ स्वास्थ्य मन्त्रालयद्धारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।
उनका अनुसार अहिलेसम्म टेकुको जनस्वास्थ्य प्रयोगशालामा यो १७५ बाहेक अरु ३५ जना संकास्पद व्यक्तिको समेत स्वाब लिएर कोरोना भाइरसको जाँच गरिएको छ । त्यसमा १ जना ( शुरुमै देखिएको र जो अहिले उपचार पछि निको भइसकेका छन् ) बाहेक सबै जनामा कोरोना नेगेटिभ देखिएको छ ।
प्रवक्ता श्रेष्ठले खरिपाटीमा रहेका उनीहरुको अब १४ औँ दिनमा पुन जाँच गर्ने र त्यसमा समेत नेगेटिभ आएमा घर क्वारेन्टाइन मुक्त गर्ने बताए ।
चीनमा रोकिएका ६ जना पनि स्वस्थ
प्रवक्ता श्रेष्ठले नेपाल आउने क्रममा बुहानको विमान स्थलमा जाँच गर्दा ज्वरो देखिएका ६ जना नेपाली अहिले चीनमै आइसोलेसनमा रहेको बताए । तर उनीहरुको स्वास्थ्य ठिक रहेको बताए । ‘ज्वरो देखिएपछि आइसोलेसनमा त बस्नु परयो तर त्यसदिन देखि उनीहरुमा कुनै स्वास्थ्य समस्या देखिएको छैन् ,’ श्रेष्ठले भने । उनीहरु अहिले चिकित्सकको निगरानीमा भने रहेको उनले बताए ।
सम्पर्क इमेल : [email protected]