डा. भगवान कोइरालाको अगुवाईमा बन्ने बाल अस्पताललाई बैंक अफ काठमाडौँको एक करोड सहयोग
काठमाडौँ, ७ फागुन । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको अगुवाईमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि बैंक अफ काठमाडौँ (बीओके) ले एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त किओचको आईसीयू कक्ष निर्माणका लागि सो रकम सहयोग गरेको हो ।
बैंकको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले किओचका अध्यक्ष प्राडा कोइरालालाई एक करोड रुपैयाँ हस्तान्तरण गरे ।
त्यसअघि बीओकेका अध्यक्ष श्रेष्ठ र किओचका अध्यक्ष प्राडा कोइरालाबीच सो रकम आईसीयू कक्ष निर्माणका खर्च गर्ने गरी सम्झौँता भएको थियो । त्यस लगत्तै श्रेष्ठले एक करोड रुपैयाँको चेक प्राडा कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
यसअघि नै किओचका लागि सरकारले बुढा निलकण्ठ नगरपालिका ७ हेपाली हाइटमा साढे ४१ रोपनी जग्गा लिजमा उपलव्ध गराउने निर्णय गरिसकेको छ । गत ६ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले किओचका लागि ४१ रोपनी १० आना ३ पैसा लिजमा उपलब्ध गराउने निर्णय गरेको हो ।
यो टिमले काठमाडौँमा १०० सैय्या सहित सातवटै प्रदेशमा ५० सैय्या क्षमताको विशेषज्ञ सेवा सहितको विशिष्ठीकृत बाल अस्पताल खोल्ने तयारी गरेको छ । उक्त परियोजना काठमाडौँ भित्र आगामी दुई बर्ष र प्रदेशमा ३ बर्ष भित्रमा सम्पन्न हुने बताइएको छ । त्यसका लागि २ अर्व बढी लगानी लाग्ने अनुमान छ ।
डा कोइराला अध्यक्ष रहेको किओचमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, विरेन्द्रबहादुर बस्नेत, डा ज्योतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा सदस्य छन् ।
सम्पर्क इमेल : [email protected]