स्वास्थ्यको कर्मचारी समायोजन गुनासो समिति भंग हुँदै, बाँकी काम प्रशासनले गर्ने

काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी समायोजन कार्यलाई व्यवस्थित गर्न स्थापित गुनासो व्यवस्थापन एवं सहजीकरण समिति आजबाट भंग हुने भएको छ । समायोजनको बाँकी काम सोमबारबाट कर्मचारी प्रशासन महाशाखाले गर्ने भएको छ ।

गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक समेत रहेका मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले सो जानकारी दिएका हुन् ।

‘आजसम्म हाम्रो समितिले काम गरेको थियो । अब भोलिबाट यो काम कर्मचारी प्रशासन महाशाखाबाट हुनेछ,’ श्रेष्ठले भने ।

उनले काठमाडौँ उपत्यका र तराईँका केही क्षेत्रको गरी करीब १००० –  १२०० को हाराहारि समायोजनको काम बाँकी रहेको बताए ।

करीब २ हजार ७०० बढी स्वास्थ्यकर्मीको समायोजनको काम गत असारबाट शुरु भएको हो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजन सूची गोलमाल भएपछि यो झनै जटिल बन्दै गएको थियो । अहिले भने समायोजनको सबैकाम सामान्यले स्वास्थ्यलाई नै दिएको छ ।

यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले समायोजनको काम लम्बिएको भन्दै समितिलाई छिटो सक्न निर्देशन दिइरहेका थिए । उनले गुनासो समितिलाई समायोजनको काम माघ मसान्त भित्र भनेका थिए । मन्त्री ढकालले त्यसयता समितिलाई थप दुई दिन समय दिएका थिए । तर समिति संयोजक श्रेष्ठले काम भइरहेको तर अझै केही बाँकी भएको मन्त्रीलाई बताएका थिए । त्यस लगत्तै मन्त्री ढकालले बाँकी काम प्रशासनलाई सम्हाल्न निर्देशन दिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *