स्वीकृत भयो स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा

काठमाडौँ, ३ माघ । सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजिनामा स्वीकृत गरेको हो ।

डा चौधरीले गत १३ कात्तिकमा पदबाट राजिनामा दिएकी थिइन । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कन्ट्रि अफिस भारतका लागि पी ५ लेभलमा जागिर सुनिश्चित भएपछि उनले राजिनामा दिएकी हुन् । तर सरकारले उनको राजिनामा सहजै स्वीकृत गर्न मानेन् । १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले राजिनामा अस्विकृत गर्ने निर्णय गरेपछि डा चौधरीले पुन स्वीकृतका लागि अनुरोध गरेकी थिइन ।

त्यसो त डा चौधरीले राजिनामा स्वीकृत नहुँदै ३ नोभेम्बरबाट डव्लुएचओमा हाजिर भईसकेकी थिइन । तर यता राजिनामा स्वीकृत हुन ढिलाई हुँदा तनावमा थिइन ।

मन्त्रिपरिषदको निर्णय सुनाउन विहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजिनामा स्वीकृत भएको विषय जानकारी नै दिएनन् । तर स्वास्थ्य मन्त्रालयमा भने राजिनामा स्वीकृत भएको जानकारी आईसकेको छ ।

‘सचिव ज्यू को राजिनामा स्वीकृत भयो । त्यसको जानकारी हामीकहाँ आईसकेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

गत बर्ष सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि निर्णय विरुद्ध डा चौधरीले सर्बोच्चमा रिट हालेकी थिइन । सर्बोच्चले उनको नाममा अन्तरिम आदेश दिएपछि उनी स्वास्थ्य मन्त्रालयमा फर्केकी थिइन । त्यसयता उनलाई स्वास्थ्यमा रहेर काम गर्न गाह्रो भईरहेको थियो ।

डा चौधरीको राजिनामा स्वीकृत भएसंगै अब स्वास्थ्य सचिवको कोटा रिक्त भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *