‘क्लिनिकल ट्रायल रजिस्ट्री’को काम अब नेपालमै सम्भव
काठमाडौँ, २ पुस । स्वास्थ्य बैज्ञानिकहरुले गर्ने ‘क्लिनिकल ट्रायल रजिस्ट्री’को काम अव नेपालमै सम्भव भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको अर्थिक एवं प्राविधिक सहयोगमा नेपाल क्लिनिकल ट्रायल रजिस्ट्री (एनपीसीटीआर) को स्थापना गरेसंगै यो सम्भव भएको हो ।
एनपीसीटीआरको स्थापना भएसंगै अब देखि नेपालमा हुने क्लिनिकल ट्रायल दर्ताका लागि विदेश धाउन नपर्ने परिषदका अधिकारीहरु बताउँछन् ।
‘यसअघि क्लिनिकल ट्रायल विदेश वा स्वदेशमै गरिए पनि त्यसको दर्ताका लागि विदेशमै जानुपर्ने बाध्यता थियो,’ परिषदका अध्यक्ष डा अञ्जनीकुमार झा अगाडी थप्छन् ‘यसको स्थापनासंगै अब नेपाली वैज्ञानिकलाई विदेश जान नपर्ने मात्रै होइन विदेशी अनुसन्धानकर्तालाई पनि नेपालमा अनुसन्धान गर्न सहज हुनेछ ।’
त्यसो त सन् २०१९ का लागि मात्रै परिषदको आचार संहिता बोर्डबाट मात्रै २१ वटा क्लिनिकल ट्रायल सम्वन्धी प्रस्तावले स्वीकृत पाइसकेको छ ।
डा झाका अनुसार एनपीसीटीआर प्लेटफर्म मा विश्वका कुनै पनि देशका बैज्ञानिकहरुले ट्रायल रजिष्टर गर्न पाउनेछन् । नेपालमा हुने ट्रायलहरु पनि अनिर्वाय रुपमा एनपीसीटीआर प्लेटफर्ममा दर्ता गर्नुपर्ने छ । र यो प्लेटफर्ममा दर्ता गर्दा पैसा नलाग्ने समेत उनले बताए ।
परिषदले यस कार्यका लागि दुई जना अनुसन्धान अधिकृतलाई प्रशिक्षण गराई खटाउन लागेको जानकारी दिएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



