कान्तिका निर्देशकसंग स्वास्थ्य मन्त्रीको प्रश्न, ‘डाक्टरको संख्या ठ्याक्कै कति छ ?’
काठमाडौँ, २४ मंसिर । मंगलबार कान्ति बाल अस्पतालको स्थलगत निरीक्षणमा आएका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई निर्देशक डा आरपी बिच्छाले अस्पतालको अवस्था सुधार हुँदै गएको रिपोर्टकार्ड रिपोर्ट कार्ड प्रस्तुत गरे ।
चार महिना अघि निर्देशक भएर आएपछि शुरु गरेको पिंकु वार्ड, व्लर्ड बैंक, कुरुवा घर निर्माणको सम्झौँता, अक्सिजन प्लान्ट सञ्चालन गर्ने योजना बढो प्रफुल्ल मुद्रामा सुनाएका उनले जनशक्तिको कुरा गर्दा केही अल्मलिए । विकास समिति र सरकारी डाक्टरको विवरण, स्थायी तथा करारमा रहेका नर्सको विवरण, अध्ययन तथा सुत्केरी विदामा रहेका नर्स तथा अन्य स्वास्थ्यकर्मीको विवरण सुनेपछि स्वास्थ्यमन्त्री ढकालले सोधे, ‘तपाईँकहाँ डाक्टर कति छन् ? निर्देशक डा विच्छाले भने, ‘भने ८४ जना छन् ५४ जना विकास समितिका छन् । केही समायोजनमा परेका छन्, आवासीय चिकित्सक पनि छन् ।’
मन्त्रीले पुन प्रश्न गरे, ‘मैले तपाईँलाई बुझाउन सकिन कि ? तपाईँले मलाई बुझाउन सक्नु भएन ? ठ्याक्कै संख्या कति हो ?’ डा विच्छाले जवाफ उस्तै गरी पेश गरे ।
जवाफमा सन्तुष्ठ नदेखिएका स्वास्थ्य मन्त्रीले त्यसपछि मात्रै प्रश्न तेर्र्याउनुको गुह्य कुरा खोले । स्वास्थ्यमा जानु अघि उनलाई साथीहरुले भनेका रहेछन् । तिमीले स्वास्थ्यमा गएर डाक्टरको विवरण थाह पाउन सक्दैनौँ । ‘साथीहरुले मलाई चुनौती दिएका दिएका छन् कि डाक्टरको विवरण तिमीले थाहा पाउनै सक्दैनौँ भनेर । अहिलेसम्म हेर्दा अस्पताल घुम्दा साथीहरुको भनाई ठिकै जस्तो लागेको छ । तर म एकीन विवरण खोज्छु भन्नेमै छु,’ उनले प्रष्ठ्याए ।
उनले हरेक अस्पतालले डाक्टरको विवरण वेवसाइटमा राख्ने काम अघि बढाउन चाहेको समेत बताए । ‘अब हरेक अस्पतालले डाक्टरको विवरण राख्नु परयो । कहाँ काम गर्ने ? कुन रोगको विशेषज्ञ ? कति बर्ष देखि काम गर्दै आएको सबै विवरण हुनुपरयो । त्यसले विरामीलाई पनि सजिलो । सरकारलाई पनि विवरण खोज्न सजिलो,’ उनले भने ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव खगराज बरालले मन्त्रालयको तथ्यांक र कार्यस्थलको तथ्यांक फरक परेको बताए । ‘म पहिले शिक्षा मन्त्रालयमा थिएँ । त्यहाँ पनि शिक्षकको एकीन विवरण पत्ता लगाउन निकै गाह्रो हुन्थ्यो । अहिले स्वास्थ्यमा पनि डाक्टरको विवरण पत्ता लगाउन त्यस्तै गाह्रो हुँदो रहेछ,’ उनले भने ।
सचिव बरालले शिक्षामा धेरै जना गोष्ट शिक्षक भेटिएको भन्दै स्वास्थ्यमा पनि गोष्ट स्टाफ हुन सक्ने बताए ।
त्यसअघि स्वास्थ्य मन्त्री ढकाल र सचिव बरालको टोलीले अस्पतालको विभिन्न विभाग, युनिट र वार्डहरुको निरीक्षण गरेको थियो ।
सम्पर्क इमेल : [email protected]