एमबीबीएस र बीडीएसको परीक्षा सार्ने सहमति !
काठमाडौँ, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)आगामी २० र २१ कात्तिकबाट शुरु गर्न लागेको क्रमश बीडीएस र एमबीबीएस प्रथम बर्षको परीक्षा सार्ने भएको छ । यस्तै १३ मंसिरबाट हुने भनिएको एमबीबीएस बीडीएस दोस्रो बर्षको परीक्षा समेत केही पर धकेलिने विद्यार्थीहरुले बताएका छन् ।
परीक्षा सार्ने विषयमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), चिकित्सा शिक्षा संघर्ष समिति र महाराजगञ्ज मेडिकल कलेज स्वतन्त्र विद्यार्थी युनियनबीचको त्रिपक्षीय बैठकमा परीक्षा सार्ने विषयमा मौखिक सहमति भएको छ ।
आइओएमले परीक्षाको तालिका परीवर्तन गर्न केही प्रक्रियागत कार्य हुनुपर्ने भन्दै सोमबार सूचना प्रकाशित गर्ने प्रतिवद्धता जनाएको महाराजगञ्ज स्ववियू सभापति डा मिलन गैरेले बताए । ‘आजको बैठकबाट एमबीबीएस र बीडीएस सहित सबै संकायको पहिलो बर्षको परीक्षा एक महिना पछि र दोस्रो बर्षको परीक्षा १५ दिन पछि लैजाने सहमति भएको छ,’ डा गैरेले भने ।
डा गैरेका अनुसार लामो समय देखि आन्दोलन चलेको गण्डकी मेडिकल कलेज पोखरा तथा चितवन मेडिकल कलेज भरतपुरमा विद्यार्थीहरुको परीक्षा फारम समेत छुटेको छ । उता पछिल्लो पटक लफडा भएको युनिभर्सल मेडिकल कलेज भैरहवामा त विद्यार्थीहरुलाई कलेज प्रशासनले वन्धक बनाएको आरोप लागेको छ । ‘यस्तो अवस्थामा कसरी परीक्षा हुन्छ ? त्यसैले हामीले परीक्षा सार्न भनेका हौँ । आईओएम त्यसमा राजी भएको छ,’ डा गैरेले भने ।
यसैबीच अनाधिकृत रुपमा उठाइएको शुल्क फिर्ता गर्नु पर्ने माग गर्दै मेडिकल विद्यार्थीहरुले आज महाराजगञ्जमा सांकेतिक जुलुस निकालेका थिए । उनीहरुले बढी शुल्क लिइएका कलेजहरुलाई तत्काल शुल्क फिर्ता गर्न आवहान गरेका थिए ।
सम्पर्क इमेल : [email protected]