फागुन र चैतमा दादुरा रुवेला खोप अभियान हुने निश्चित
काठमाडौँ, २९ असोज । सरकारले आउँदो फागुन र चैत महिनामा दादुरा रुवेला खोप सञ्चालन गर्ने निश्चित गरेको छ । यसअघि मंसिर पुसमै यो अभियान सञ्चालन गर्ने भनिएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाले पटक पटक रोकिएको यो अभियान आगामी फागुन र चैत महिना दुई चरणमा गर्ने निश्चित भएको जानकारी दिएको छ ।
खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार यसपटक देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको यो खोप दिइन लागिएको छ ।
उनले पहिलो चणमा फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई र दोस्रो चरणमा चैत महिनामा प्रदेश नं ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइने तयारी भएको समेत जानकारी दिए ।
डा गौतमले यस पटक झापादेखि कञ्चनपुरसम्मका १८ जिल्लाका (चितवन र नवलपरासीलाई छाडेर ) सबै बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाईने बताए ।
अहिले नेपालमा पोलियोको शून्य अवस्था छ। तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागेको उनले जानकारी दिए ।
त्यसो त नेपालमा सन् २०१० देखि पोलियो रोगको नयाँ बिरामी भेटिएका छैनन् ।
डा गौतमले नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको बताए ।
नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमश दोस्रो, तेस्रो र चौथो अभियानको रुपमा सञ्चालन भएको थियो ।
सम्पर्क इमेल : [email protected]