बर्षमै साढे पाँच लाख बिरामीको उपचार गर्ने त्रिवि शिक्षण अस्पताल घाटामा !
काठमाडौँ, ५ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले एक बर्षमा ओपिडीमा र भर्नामा गरी साढे पाँच लाख भन्दा बढी बिरामीको उपचार गर्छ तर अस्पताल भने आर्थिक रुपमा घाटामा छ ।
अस्पतालको ३७ औँ बार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा निर्देशक प्राडा प्रेम खड्गाले चालु आर्थिक बर्ष २०७६ ७७ को प्रक्षेपित आर्थिक विवरण सुनाउँदा कतिपय सहभागीहरु आश्चर्यमा परेका थिए । उनीहरु भन्दै थिए बार्षिक १० हजार विरामीको उपचार गर्ने निजी अस्पतालले करोडौँ नाफामा हुने तर लाखौँको संख्यामा उपचार गर्ने सरकारी अस्पताल फेरी पनि घाटामा ।
निर्देशक प्राडा खड्काले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७५७६मा ओपीडी तर्फ ५ लाख २५ हजार ५११ जनाले सेवा लिएका छन् । जो अघिल्लो बर्षको संख्या भन्दा १७ हजार १८० जना बढी हो । यस्तै भर्ना भई उपचार गराउनेको संख्या आर्थिक बर्ष २०७५७६ मा २५ हजार ८४५ जना छ । जो अघिल्लो बर्षको सोही अवधीमा भन्दा ८३३ जनाले बढी हो । यस्तै इमरजेन्सी उपचारमा ५० हजार ३६९ जनाले गतवर्ष उपचार गराए । जो अघिल्लो बर्षको तुलनामा १ हजार ५१२ जनाले बढी हो ।
यति धेरै विरामीको उपचार गर्ने अस्पतालको आर्थिक पक्ष भने उदेक लाग्दो छ । निर्देशक प्राडा खड्गाले आज प्रस्तुत गरेको चालु आर्थिक बर्षको प्राक्षेपित आर्थिक विवरणमा अस्पताल ६८ लाख ८९ हजार ३५५ रुपैयाँ घाटामा हुने अनुमान गरिएको छ ।
खड्गाले चालु आर्थिक बर्षमा आम्दानी तर्फ आन्तरिक स्रोतबाट १ अर्व १४ करोड ८७ लाख २५ हजार ७९४ रुपैयाँ, त्रिविको अनुदान ३४ करोड ९४ लाख ७२ हजार २०० रुपैयाँ, नेपाल सरकारको अनुदान ४७ करोड १० लाख रुपैयाँ, बैकल्पिक उर्जा प्रवर्धन केन्द्रद्धारा १५ करोड ६४ लाख २५ हजार रुपैयाँ र त्रिविको विकास बजेट ६ करोड गरी कुल २ अर्व १८ करोड ५६ लाख २२ हजार ९९४ रुपैयाँ राखेका छन् ।
खर्च तर्फ उनले पुजिगत अनुमानित खर्च ७७ करोड ४१ लाख ६६ हजार ६५० रुपैयाँ र सञ्चालन अनुमानित खर्च १ अर्व ४१ करोड, ८३ लाख ४५ हजार ७०० रुपैयाँ गरी कुल २ अर्व १९ करोड २५ लाख १२ हजार ३५० रुपैयाँ हुने उल्लेख गरेका छन् ।
जापान सरकारको सहयोगमा विसं २०४० सालमा ३०१ शैय्याबाट शुरु भएको अस्पताल अहिले ७०० शैय्या क्षमतामा सञ्चालित छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



